
पोखरा। अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने ‘२७ औं पोखरा सडक महोत्सव’ र ‘पोखरा भ्रमण वर्ष २०२५’ को रौनक यसपटक मिथिला नगरी जनकपुरसम्म फैलिएको छ । पोखराका पर्यटन व्यवसायीहरूको एक विशेष टोलीले जनकपुरधाम पुगेर मिथिलावासीलाई पोखरा भ्रमणको निम्तो दिएको छ ।
पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समिति र रेवान पोखराको संयुक्त आयोजनामा जनकपुरमा सम्पन्न पत्रकार सम्मेलन मार्फत पोखरेली टोलीले यहाँका स्थानीयलाई पोखराको न्यानो आतिथ्यता स्वीकार्न आग्रह गरेको हो ।
कार्यक्रममा बोल्दै भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले आन्तरिक पर्यटनलाई चलायमान बनाउन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जोड्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामी पत्र पठाएर मात्र होइन, प्रत्यक्ष भेटेरै निम्तो दिन आएका हौं । यसले दुई शहरबीचको सम्बन्ध र विश्वासलाई अझ प्रगाढ बनाउँछ ।’
यही पुष १३ देखि १७ गतेसम्म (डिसेम्बर २८ देखि जनवरी १) लेकसाइडमा हुने सडक महोत्सवबारे जानकारी दिँदै महोत्सव संयोजक बसन्त गौतमले यसपटकको महोत्सवमा जनकपुरको अपनत्व महसुस हुने बताए।
‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा यसपटक मिथिला संस्कृति झल्किने झाँकी र प्रस्तुति समेत समेटिने उनले जानकारी दिए । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना, डुंगा दौड, वेटर रेस, लाइभ कन्सर्ट र विभिन्न सांस्कृतिक कार्यक्रमहरू मुख्य आकर्षण रहनेछन् ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले सडक महोत्सव अब पोखराको मात्र नभई अन्तर्राष्ट्रिय ब्राण्ड बनिसकेको भन्दै सहभागिताका लागि आग्रह गरे।
त्यस्तै, रेवानका पूर्व अध्यक्ष सूर्य भुजेलले पोखरा र जनकपुर दुवै पर्यटनका प्रचुर सम्भावना बोकेका शहर भएकोले सहकार्य आवश्यक रहेको औंल्याए। नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन शाह र मधेश प्रदेश नाटाका महासचिव सुदर्शन काफ्लेले गण्डकी र मधेश प्रदेशबीच पर्यटकीय आदान-प्रदान हुनुपर्नेमा जोड दिए।
पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारीले धार्मिक पर्यटनमार्फत दुई शहरलाई जोड्नुपर्ने विचार व्यक्त गरे । पर्यटन प्रवर्द्धनका लागि पोखराबाट २० सदस्यीय जम्बो टोली पूर्वी नेपालको यात्रामा निस्किएको हो ।
टोलीमा पोखराका विभिन्न पर्यटन सम्बद्ध संघ-संस्थाका प्रमुख, पोखरा महानगरपालिकाका प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको छ । महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि रहेको छ भने प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका रहेका छन् ।
