एमाले ११औँ महाधिवेशनः आज नयाँ नेतृत्व चयनका लागि मतदान, ओली-पोखरेल प्यानलबीच कडा प्रतिस्पर्धा

Share:

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। केन्द्रीय निर्वाचन आयोगका अनुसार बन्दसत्र स्थल भृकुटीमण्डपमा मंगलबार दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म मतदान हुनेछ। महाधिवेशनको सबैभन्दा चासोको केन्द्र बनेको अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ-आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। आयोगले सार्वजनिक गरेको प्रारम्भिक नामावलीअनुसार दुवै नेताले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार मतदान प्रक्रियामा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिनेछ। एक जना प्रतिनिधिले मतदान गर्न करिब २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ। महाधिवेशनमा २ हजार २६३ प्रतिनिधि सहभागी छन्।

पार्टीको संशोधित विधानअनुसार पाँच उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारहरूमा अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’, डा. विन्दा पाण्डे र विष्णुप्रसाद पौडेल रहेका छन्।

एक महासचिव पदका लागि शङ्कर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ। त्यस्तै तीन उपमहासचिव पदका लागि आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट र विष्णुप्रसाद रिमालले उम्मेदवारी दिएका छन्।

केन्द्रीय सदस्यमा झन्डै हजार उम्मेदवार

नौ सचिव पदका लागि २० जनाको उम्मेदवारी परेको छ भने विभिन्न भूगोल र क्षेत्रबाट केन्द्रीय सदस्यमा एक हजारभन्दा बढी उम्मेदवारी दर्ता भएका छन्। यसले एमाले नेतृत्व चयनको प्रतिस्पर्धा थप रोचक र चुनौतीपूर्ण बनेको छ। आजको मतदानपछि एमालेको आगामी नेतृत्व र राजनीतिक दिशाबारे स्पष्ट तस्वीर आउने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: