पोखरा महानगरको ६७औँ स्थापना दिवस : कृषि हाजिरजवाफमा वडा नं. २८ ले मार्यो बाजी, ३३ दोस्रो र ७ तेस्रो

Share:

पोखरा । पोखरा महानगरपालिकाको ६७औँ स्थापना दिवसको अवसर पारेर आयोजित वडास्तरीय कृषि हाजिरजवाफ प्रतियोगिताको उपाधि वडा नम्बर २८ ले जितेको छ । महानगरका ३१ वटै वडाका कृषि सञ्जालहरूबीच भएको निकै रोचक र कडा प्रतिस्पर्धामा वडा नम्बर २८ को टिम उत्कृष्ट ठहरिएको हो ।

प्रतियोगितामा राधाकृष्ण तिवारी, इमनाथ भुर्तेल र शारदा भण्डारी सम्मिलित वडा नम्बर २८ को टिमले प्रथम स्थान हासिल गर्दै २० हजार रुपैयाँ नगद, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पदम लामिछाने, अन्जु भण्डारी र सुदनराज अधिकारी सम्मिलित वडा नम्बर ३३ को टिम द्वितीय भयो ।

उनीहरूले १५ हजार रुपैयाँसहित ट्रफी र मेडल हात पारे । त्यस्तै, च्युरा भण्डारी, बिना गिरी र कमला बराल सम्मिलित वडा नम्बर ७ को टिमले तृतीय स्थानमा चित्त बुझाउँदै १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो ।

प्रतियोगितालाई व्यवस्थित बनाउन सहभागी ३१ टिमलाई सुरुमा ५ समूहमा विभाजन गरिएको थियो । हरेक समूहमा ६–६ टिमबीच प्रतिस्पर्धा गराएर प्रारम्भिक चरणबाट छानिएका उत्कृष्ट टिमबीच फाइनल भिडन्त गराइएको थियो । कृषकहरूको ज्ञान तिखार्नका लागि बहु–उत्तर, तस्बिर हेरेर उत्तर दिने, र्‍यापिड फायर (छिटो उत्तर दिने) र ठिक/बेठिक छुट्याउने जस्ता विभिन्न चरणमा प्रश्नहरू सोधिएको थियो ।

विजेताहरूलाई पुरस्कार वितरण गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस्ता बौद्धिक कार्यक्रमले कृषकमा ज्ञान र उत्साह दुवै थपेको बताए । “पोखरामा कृषिका विभिन्न पकेट क्षेत्रहरू छन्, यो क्विजले व्यावहारिक ज्ञान आदानप्रदानमा ठूलो भूमिका खेलेको छ,” प्रमुख आचार्यले प्रतिबद्धता जनाउँदै भने, “आगामी दिनमा पनि किसान लक्षित यस्ता कार्यक्रमलाई हामी निरन्तरता दिनेछौँ ।”

गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव वासे रेग्मीले कृषि क्षेत्रको विकासमा पोखरा महानगर ‘रोल मोडेल’ बनेको भन्दै प्रशंसा गरे । उनले कृषिलाई उद्योगका रूपमा विकास गर्न र कृषकलाई उद्यमी बनाउन प्रदेश सरकारले सहकार्य गरिरहेको जानकारी दिए ।

कार्यक्रमका सभापति एवं आर्थिक विकास समितिका संयोजक वडा नं. १४ का अध्यक्ष बोधराज कार्कीले यो प्रतियोगितालाई हारजितभन्दा पनि नयाँ प्रविधि र ज्ञान सिक्ने अवसरका रूपमा लिन आग्रह गरे । कृषकहरूकै मागअनुसार गत वर्षदेखि सुरु भएको यो कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको आर्थिक विकास महाशाखा प्रमुखले जानकारी दिए ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत, वडा नम्बर ३३, २३, १३ र १५ का वडाध्यक्षहरू, विभिन्न वडाका सदस्यहरू, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रतिनिधि तथा विभिन्न कृषि सञ्जाल र सहकारीका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: