
पोखरा । भलिबल खेलका लागि चर्चित कास्कीको रुपा गाउँपालिकामा पहिलो पटक फुटबलको रौनक छाएको छ। रुपा-५ फेदीस्थित दोभान क्लबले पालिकाको इतिहासमै पहिलो पटक ‘दोभान कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिता’ आयोजना गरेर नयाँ सुरुवात गरेको हो।
मंगलबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा ‘विजी गाइज’ ले विजयी सुरुआत गरेको छ। विजी गाइजले भिरचोक तमु समाजलाई २-० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद नतिजा निकालेको हो।
प्रतियोगिताको उद्घाटन गर्दै वक्ताहरूले रुपामा खेलकुदको नयाँ आयाम थपिएको बताएका छन्। क्लबका अध्यक्ष सुजन श्रेष्ठले रुपा गाउँपालिका भलिबलका लागि परिचित भए पनि फुटबलमा ओझेलमा परेको महसुस गरी यो प्रतियोगिता आयोजना गरिएको बताए। ‘रुपामा भलिबलको पहिचान छ, तर फुटबलमा युवाहरूको आकर्षण भएर पनि अवसर थिएन,’ अध्यक्ष श्रेष्ठले भने, ‘अब भलिबलसँगै फुटबलको पनि पहिचान स्थापित गराउन यो प्रतियोगिता कोसेढुङ्गा साबित हुनेछ।’ खेल संयोजक सुनिल श्रेष्ठले पालिका गठन भएपश्चात् आधिकारिक रूपमा फुटबल प्रतियोगिता आयोजना भएको यो पहिलो पटक भएको दाबी गरे।
जनप्रतिनिधिको साथ र ‘एक वडा एक खेल मैदान’ को चर्चा
कार्यक्रममा रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले पालिकाले खेलकुद विकासका लागि सधैं हातेमालो गर्दै आएको बताइन्। उनले युवाहरूको जोस र जाँगरलाई सम्मान गर्दै फुटबलसँगै अन्य खेलकुद प्रतियोगितामा पनि पालिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन्।
वडा नं ५ का वडाध्यक्ष राजन खनालले दोभान क्लबले ऐतिहासिक काम गरेको भन्दै खेलकुद युवाको मेरुदण्ड भएको बताए।
उनले गाउँपालिकाकै युवाको नेतृत्वमा यस्ता नवीन कार्य हुनु गर्वको विषय भएको उल्लेख गरे। यस्तै, वडा नं ६ का वडाध्यक्ष नारायण गुरुङले रुपामा ‘एक वडा एक खेल मैदान’ को अभियान चलिरहेको भन्दै खेलकुदले स्वास्थ्य र सामाजिक सद्भाव कायम राख्ने बताए।
कार्यक्रममा रास्वपा रुपाका सभापति राजेन्द्र सुवेदीले खेलकुदले युवाहरूलाई जोड्ने माध्यमको काम गरेको भन्दै खुसी व्यक्त गरे।
विजेतालाई १ लाख पुरस्कार
आगामी पुस ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल २१ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यसैगरी, विधागत तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
