दश वर्षपछि ब्युँतियो ‘पोखरेली नवरत्न’: अमृत गुरुङ र तीर्थ श्रेष्ठसहित ९ विशिष्ट व्यक्तित्व सम्मानित

Share:

पोखरा । पोखरा महानगरपालिकाले आफ्नो ६७औँ स्थापना दिवसको अवसरमा एक दशकदेखि रोकिएको प्रतिष्ठित ‘पोखरेली नवरत्न’ सम्मानलाई पुनः ब्युँताएको छ । बुधबार आयोजित विशेष समारोहमा महानगरले कला, साहित्य, स्वास्थ्य र समाजसेवा लगायतका क्षेत्रमा पोखराको गरिमा बढाउने ९ जना विशिष्ट व्यक्तित्वहरूलाई ‘पोखरेली नवरत्न’ ले विभूषित गरेको हो । विसं २०५५ सालमा सुरु भएर बीचमा स्थगित भएको यो सम्मानलाई महानगरले १० वर्षपछि निरन्तरता दिँदा नेपथ्य ब्यान्डका अमृत गुरुङदेखि साहित्यकार तीर्थ श्रेष्ठसम्मका हस्तीहरू सम्मानित भएका छन् ।

को-को परे नवरत्नमा ?

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र महानगर प्रमुख धनराज आचार्यले संयुक्त रूपमा सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका नवरत्नहरू 

  • गायन/संगीत: अमृत गुरुङ (नेपथ्य)

  • साहित्य: तीर्थ श्रेष्ठ

  • स्वास्थ्य: प्रा.डा. बुद्धिबहादुर थापा (पूर्वउपकुलपति, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान)

  • खेलकुद/शिक्षा: प्रा.डा. वीरेन्द्रसिंह गुरुङ

  • धार्मिक पर्यटन/कृषि: चन्द्रकान्त बराल

  • समाजसेवा: चन्द्रकृष्ण कर्माचार्य

  • पत्रकारिता: तिलकमान गुभाजु

  • उद्यमशीलता: रामकली खड्का

  • शिक्षा/उद्योग: हरिप्रसाद पाण्डे

१०४ वर्षीय ज्येष्ठ नागरिक ‘महानगर मातापिता’ घोषित

स्थापना दिवसको अर्को भावनात्मक आकर्षण ज्येष्ठ नागरिक सम्मान बन्यो । महानगरले १०४ वर्ष पूरा गरेका दुई ज्येष्ठ नागरिकलाई ‘महानगर मातापिता’ को उपाधि दिएको छ । पोखरा-२८ आरुपाटाकी १०४ वर्षीया झ्याउरी तिमिल्सिनालाई ‘महानगर माता’ र पोखरा–३२ डाँडाखर्कका १०४ वर्षीय काशीनाथ पण्डितलाई ‘महानगर पिता’ घोषणा गर्दै दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरियो ।

२० करोडको विवादबीच मणिपाललाई उत्कृष्ट करदाता सम्मान

महानगरले उत्कृष्ट करदाताका रूपमा मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप प्रालि (मणिपाल शिक्षण अस्पताल) लाई सम्मान गरेको विषय चर्चामा रह्यो । गत आर्थिक वर्षमा मालपोत, सम्पत्ति र व्यवसाय कर गरी ३६ लाख १४ हजार १५ रुपैयाँ बुझाएको भन्दै मणिपाललाई सम्मान गरिएको हो । यद्यपि, मणिपालको नक्सा पास दस्तुरबापतको करिब २० करोड राजस्व विवाद अझै सर्वोच्च अदालतमा विचाराधीन छ । २०७९ जेठमा नक्सा पासमा दिइएको भारी छुटको विषय अख्तियार र अदालतसम्म पुगे पनि नियमित कर दाखिलाका आधारमा महानगरले मणिपाललाई उत्कृष्ट करदाताको सम्मान दिएको हो ।

सप्ताहव्यापी कार्यक्रमको समापनसँगै महानगरले पोखराको चिनारी झल्काउने ‘सारंगी पार्क’ को शिलान्यास समेत गरेको छ । कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई पनि पुरस्कृत गरियो । महानगरको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य ‘सर्वोत्कृष्ट कर्मचारी’ घोषित भए भने अन्य १० जना कर्मचारीले उत्कृष्ट र कर्तव्यनिष्ठ कर्मचारीको पुरस्कार पाए । साथै, सरसफाइमा उत्कृष्ट हुने वडा र कार्यालयहरूलाई पनि सम्मान गरिएको थियो । विसं २०१६ पुस २ गते पोखरा नगरपालिकाका रूपमा स्थापित यो संस्था २०७५ साउन २३ गते पोखरा महानगरपालिका बनेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: