
पोखरा । पर्यटकीय राजधानी पोखरासहितको कास्की जिल्लामा आर्थिक अपराधका घटनाहरू ह्वात्तै बढेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक गरेको मंसिर महिनाको मासिक प्रगति विवरण अनुसार जिल्लामा हुने अपराधहरूमध्ये बैंकिङ कसुर लगायतका आर्थिक अपराधको हिस्सा सबैभन्दा ठूलो देखिएको हो । मंसिर महिनामा मात्रै कास्कीमा विभिन्न शीर्षकमा १८६ वटा मुद्दा दर्ता हुँदा सबैभन्दा बढी ७८ वटा मुद्दा आर्थिक अपराधसँग सम्बन्धित छन् ।
१३८ जना पक्राउ, जघन्य अपराधमा ३३ मुद्दा
कास्की प्रहरीका सूचना अधिकारी एवं डीएसपी हरिबहादुर बस्नेतका अनुसार एक महिनाको अवधिमा दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर अपराधमा ३३ वटा मुद्दा छन् । यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ७ र अन्य शीर्षकमा ६८ वटा मुद्दा दर्ता भएका छन् । यी विभिन्न घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक महिनाभित्र १३८ जनालाई पक्राउ गर्न सफल भएको छ ।
फैसला कार्यान्वयन: ३५ लाख बढी असुल
अदालतको फैसला कार्यान्वयनमा पनि कास्की प्रहरीले सक्रियता देखाएको छ । दोषी ठहर भई समाजमा लुकिछिपी बसेका ९ जना फरार प्रतिवादीलाई प्रहरीले मंसिर महिनामा पक्राउ गरेको छ । उनीहरूबाट ६ महिना कैद भुक्तान गराउनुका साथै ३५ लाख १२ हजार ६ सय रुपैयाँ जरिवाना तथा बिगो रकम असुल उपर गरिएको प्रहरीले जनाएको छ ।
पोखराको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन प्रहरीले कारबाहीलाई तीव्र पारेको छ । ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ८७ सवारी साधनलाई कारबाही गर्दा एकै महिनामा २६ लाख ४९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । यद्यपि, मंसिरमा जिल्लाभर ८ वटा सवारी दुर्घटना भएका छन्, जसमा २ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् । प्रहरीको विश्लेषण अनुसार दुर्घटनाको मुख्य कारण तीव्र गति र चालकको असावधानी रहेको छ ।
लागुऔषधविरुद्ध ‘अपरेसन’
‘लागुऔषध नियन्त्रण सम्बन्धी कार्ययोजना-२०८२’ अन्तर्गत प्रहरीले विशेष अपरेसन सञ्चालन गरेको छ । जसअनुसार १४ वटा घटनामा २१ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ठूलो परिमाणमा निषेधित औषधी (ब्रुफिनुर्फिन, डाइजापाम, फेनारगन), गाँजा, ब्राउनसुगर र चरेस बरामद गरिएको छ । प्रहरीको तथ्यांकले सामाजिक निराशाको चित्र पनि देखाएको छ ।
मंसिरमा मात्रै आत्महत्याका ८ वटा घटना दर्ता भए, जसमा सबै झुण्डिएर भएका छन् । दुःखद पक्ष त के छ भने, आत्महत्या गर्नेमा १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूको संख्या ५० प्रतिशत (४ जना) रहेको छ । यस्तै, घरेलु हिंसाका १९ उजुरीमध्ये १३ वटा मिलापत्र गराइएको छ भने हराएका ४३ जनामध्ये ३३ जनालाई फेला पारी परिवारको जिम्मा लगाइएको छ ।
१० हजार नागरिकलाई सचेतना
अपराध अनुसन्धानमा मात्र नभई प्रहरीले जनचेतनामा पनि जोड दिएको छ । समुदाय र विद्यालय केन्द्रित गरी १२० वटा सचेतनामूलक कार्यक्रममार्फत एक महिनामा करिब १० हजार नागरिक र विद्यार्थीलाई सचेत गराइएको डीएसपी बस्नेतले जानकारी दिए ।
