पोखराबाट भारतका प्रमुख सहरमा सिधा उडानको पहल तीव्र, पर्यटन सहकार्यले नयाँ गति लिने अपेक्षा

Share:

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन भारतका विभिन्न प्रमुख पर्यटकीय सहरसम्म सिधा हवाई उडान आवश्यक रहेको बताएका छन्। बिहीबार पोखरामा आयोजित ‘सेकेन्ड इन्डिया-नेपाल टुरिज्म मिट’ मा बोल्दै उनले भारतीय राजदूतावासमार्फत भारतीय पक्षसँग यसका लागि पहल गरिदिन आग्रह गरे।

मुख्यमन्त्री पाण्डेले पोखराबाट अपेक्षाअनुसार अन्तर्राष्ट्रिय उडान हुन नसकेको यथार्थ स्वीकार गर्दै संघ सरकार, प्रदेश सरकार, पोखरा महानगरपालिका र पर्यटन व्यवसायीबीच निरन्तर समन्वय र सहकार्य भइरहेको जानकारी दिए। “पोखरा केवल पर्यटकीय गन्तव्य मात्र होइन, नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलाई जीवन्त बनाउने केन्द्र हो,” उनले भने, “पर्यटनले यी सम्बन्धलाई अनुभव र विश्वासमा बदल्ने काम गर्छ।”

हालै नेपाल सरकारले भारतीय ५ सय र २ सय दरका नोट नेपालमा चल्ने निर्णय गरेपछि भारतीय पर्यटक र यहाँका व्यवसायी दुवैलाई सहज भएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो। पोखरा र गण्डकी प्रदेशमा भारतीय पर्यटकलक्षित होटल तथा रेस्टुरेन्टको संख्या बढ्दो रहेको उल्लेख गर्दै उनले यहाँ आउने धेरैजसो भारतीय पर्यटक बिहार र उत्तर प्रदेशबाट हुने गरेको बताए। भारतीय पर्यटकले भोग्ने समस्याको समाधानका लागि प्रदेश सरकारले व्यवसायीसँग निरन्तर छलफल गरिरहेको पनि उनले जानकारी दिए।

कार्यक्रममा भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसन डा. राकेश पाण्डेले यस्ता कार्यक्रमले नेपाल-भारतबीचको पर्यटन साझेदारी र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपीबहादुर भट्टराई, भारतको उत्तर प्रदेश पर्यटनका सहनिर्देशक दिनेश कुमार लगायतले दुई देशबीचको पर्यटन सहकार्यलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा नेपाल र भारत दुवै देशको संस्कृति झल्किने आकर्षक सांस्कृतिक प्रस्तुति समेत देखाइएको थियो।

भारतीय दूतावास, पोखरा भ्रमण वर्ष २०२५, पोखरा पर्यटन परिषद्, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। परिषद्का महासचिव जीवनराज सापकोटाका अनुसार कार्यक्रममा सहभागी हुन आएका भारतीय टुर अपरेटर र सोसल मिडिया इन्फ्लुएन्सरहरूको टोलीलाई यसअघि चितवन, बन्दीपुर, बेगनास ताल, पर्वत र बागलुङका प्रमुख पर्यटकीय गन्तव्यको अवलोकन गराइएको थियो। यस भ्रमणले भारतीय बजारमा गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

 

कमेन्ट गर्नुहोस्
Share: