रवि लामिछाने आज छुट्दै, काठमाडौंदेखि रुपन्देही हुँदै नवलपरासी र चितवनसम्म कार्यक्रम

Share:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज छुट्दैछन् । उनको रिहाईलाई विशेष बनाउन रास्वपाले विशेष कार्यक्रम तय गरेको सो पार्टीका प्रवक्ता मनिष झाले सिधाकुरालाई बताए । उनकाअनुसार शुक्रबार बिहान  मिनेटको फ्लाइटमा रविलाई नख्खु कारागार प्रशासनले रूपन्देही लैजाने छ ।

रूपन्देही जिल्ला अदालत पुगेपछि त्यहाँ तारिख बुझ्ने लगायतका अदालती प्रशासनिक काम हुनेछ । त्यसपछि अदालतले लामिछानेलाई रिहा भएको पत्र दिनेछ र परिवारको जिम्मा लगाउने छ । रविलाई स्वागत गर्न रास्वापा कार्यवाहक सभापति डोलप्रसाद अर्याल लगायतका पार्टीका पदाधिकारीहरु पनि रुपन्देही जानेछन् ।

करिब मध्यदिनको १२ बजेसम्ममा यो काम सकिने प्रवक्ता झा बताउँछन् । सो प्रक्रियापछि रविले रूपन्देहीमा जम्मा भएका नेता, कार्यकर्ता र शुभचिन्तकमाझ भेटघाट गर्ने कार्यक्रम तय भएको झाले बताए। रूपन्देही र भैरहवाको कार्यक्रम सकिएपछि रवि दिउँसो १ बजे आपास स्थलमार्ग हुँदै नवलपरासी र चितवनतर्फ लाग्नेछन् । चितवनसम्म पुग्दा उनले बाटोका चार फरक फरक ठाउँमा उपस्थित भएका पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकमाझ भेट गर्नेछन् ।

नवलपरासी पूर्व र पश्चिम दुवै जिल्लाका नेताहरूले यसरी भेटघाट र स्वागतको कार्यक्रम तय गरिसकेको रास्वपाले जनाएको छ । यस्तै, रवि शुक्रबार साँझ नै चितवन आइपुग्नेछन् र आफ्ना नेता कार्यकर्ता एवम् शुभचिन्तक भेट गर्नेछन् ।

शनिवार बिहान ११ बजे रविको स्वागतका लागि जिल्ला पार्टी कार्यालय चितवनले भरतपुरमा खुला सभाको कार्यक्रम तय गरेको छ । चौबिसकोठी वा जिल्ला प्रशासन अघिको चौरमा सो कार्यक्रम हुने रास्वपा चितवनले जनाएको छ । रविले त्यहाँ सम्बोधन गरेपछि उनी शनिबार हवाई मार्ग हुँदै काठमाडौँ फर्कने छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक बाहिर रास्वपाले रविलाई स्वागत गर्ने कार्यक्रम तय गरेको छ । त्यहाँबाट रवि सिधै पार्टी कार्यालय वनस्थली आउनेछन् । पार्टी कार्यालयमा उनले जेनजी आन्दोलनका शहीदका परिवार र घाइते तथा उनीहरूको परिवारसँग भेट गर्नेछन् ।

कमेन्ट गर्नुहोस्
Share: