मुक्तिनाथ कृषि कम्पनीको हकप्रद शेयर निष्काशनमा नेपाल लाइफ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Share:

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। कम्पनीको हाल कायम चुक्ता पूँजी ७५ करोड ६० लाख रुपैयाँ बराबरको प्रति शेयर १०० अंकित दरका ७५ लाख ६० हजार कित्ता साधारण शेयरको १ः०.६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागिएको हो। यसअनुसार कम्पनीले ४५ करोड ३६ लाख बराबरको प्रति शेयर १०० अंकित दरका ४५ लाख ३६ हजार रुपैयाँ कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्नेछ।

यससम्बन्धी सम्झौता आज पौष ३ गते बिहीबार काठमाडौंको बसुन्धारास्थित मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको कार्यालयमा सम्पन्न कार्यक्रममा हस्ताक्षर गरिएको हो। सम्झौतामा कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री रामशरण तिमल्सिना तथा नेपाल लाइफ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनिष घिमिरेले हस्ताक्षर गरेका छन् ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड नेपालको कृषि क्षेत्रको व्यवसायिक विकासमा सक्रिय अग्रणी कम्पनी हो। कम्पनीले कृषक र उपभोक्ताबीच सेतुको रूपमा कार्य गर्दै उत्पादनका साधनको उपलब्धता, प्राविधिक परामर्श, प्रविधि प्रसार, प्रशोधन उद्योग विकास तथा उपभोक्तालाई स्वस्थ, गुणस्तरीय र पोषणयुक्त कृषि उत्पादन उपलब्ध गराउँदै आएको छ।

नेपाल लाइफ क्यापिटल लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी हो। कम्पनीले धितोपत्र बोर्ड नेपालबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापन, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन तथा निष्काशन तथा बिक्री प्रबन्धन सेवा प्रदान गर्न अनुमति प्राप्त मर्चेन्ट बैंकिङ संस्था हो।

कमेन्ट गर्नुहोस्
Share: