बृद्धा महिलालाई निशाना बनाउँदै चोरी र डाँका गर्ने गिरोह पक्राउ, ५ जना नियन्त्रणमा

Share:

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार गत पुस १ गते दिउँसो करिब ३:४० बजे कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ ठुलोकुनास्थित बाटोमा हिँडिरहेकी वर्ष ८२ की एक बृद्धा महिलामाथि अपरिचित व्यक्तिहरूले डरत्रास देखाई दुवै कानमा लगाएको सुनको रिङ लछारपछार गरी चोरी गरी फरार भएका थिए।

त्यसै दिन दिउँसो करिब ४स्५५ बजे पोखरा महानगरपालिका वडा नं. १९ पुरनचौर क्षेत्रमा वर्ष ६५ की अर्की बृद्धा महिलाको समेत दुवै कानमा लगाएको सुनको रिङ लुटपाट गरी फरार भएको सूचना प्राप्त भएको थियो। उक्त घटनाहरूको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय बगरबाट संयुक्त प्रहरी टोली परिचालन भई सूक्ष्म अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा घटनामा संलग्न पाँच जनालाई चोरी गरिएका गरगहनासहित नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूलाई सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

पक्राउ पर्नेहरुमा मादी गाउँपालिका-६, हाल पोखरा-१ भिमकालीपाटन बस्ने २१ बर्षीय सुशील नेपाली, पोखरा-२३, हाल पोखरा-१ भिमकालीपाटन बस्ने २७ बर्षीय आशिष नेपाली सुनार, पोखरा-२३ बस्ने १८ बर्षीय विजय पराजुली, पोखरा-१ भिमकालीपाटन बस्ने २१ बर्षीय अस्मिता नेपालीतथा, थासाङ गाउँपालिका-२ मुस्ताङ, हाल पोखरा-१ वाघबजार बस्ने ५३ बर्षीय तुल बहादुर विश्वकर्मा रहेका छन् ।

सुनजस्तो देखिने पहेँलो धातुको डल्लो १ थान २४ लाल प्वाइन्ट, सुनजस्तो देखिने पहेँलो धातुको हातमा लगाउने बाला  २ थान (१ तोला ५ लाल), सुनजस्तो देखिने पहेँलो धातुको कानमा लगाउने रिङ २ थान (४५ लाल ५ प्वाइन्ट), नगद ६० हजार, मोबाइल फोन ३ थान तथा स्कुटर (ग ६ प ५१८२) १ थान बरामद गरिएको छ ।

यस्तै, प्रारम्भिक अनुसन्धान अनुसार सुशील नेपाली, विजय पराजुली र आशिष नेपाली सुनारले स्कुटर प्रयोग गरी बृद्धा महिलालाई लक्षित गर्दै सुनका गरगहना चोरी गरेका थिए। चोरी गरिएका गरगहनाहरू पोखरा-१ भिमकालीपाटनस्थित आशिष नेपाली सुनारको डेरामा लुकाइछिपाइ राखिएको थियो।

त्यसमध्ये केही गरगहना आशिष नेपाली सुनार र उनकी श्रीमती अस्मिता नेपालीले पोखरा-१ स्थित मुक्तिनाथ सुनचाँदी पसलमा बिक्री गरेको खुलेको छ। उक्त पसलबाट पगालेर डल्लो बनाइएको सुनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चोरी कार्यमा प्रत्यक्ष संलग्न तीन जना तथा चोरी गरिएको धनमाल बिक्री वितरणमा संलग्न दुई जनालाई पक्राउ गरी घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: