
पोखरा । राष्ट्रिय खेलाडीको सहभागिता रहेको रामघाट फुटबल क्लबले प्रथम दोभान कप फुटबल प्रतियोगिताको उपाधि जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ। दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका-६ देउरालीमा शनिबार सम्पन्न फाइनल खेलमा रामघाटले न्युस्टार ‘बी’ लाई १–० गोलअन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो। दर्शकको उल्लेख्य उपस्थितिमा सम्पन्न खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो।
रामघाटले शनिबार नै भएको सेमीफाइनल खेलमा न्युस्टार ‘ए’ लाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। त्यस्तै न्युस्टार ‘बी’ ले खेम माइला मेमोरियललाई हराउँदै उपाधि भिडन्त तय गरेको थियो।
उपाधिसँगै रामघाट फुटबल क्लबले नगद एक लाख रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको न्युस्टार ‘बी’ ले ५० हजार रुपैयाँ नगदमा चित्त बुझाएको छ।
पुस १ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा २४ टिमको सहभागिता रहेको थियो। दोभान क्लबका अध्यक्ष सुजन श्रेष्ठका अनुसार क्लबले स्थापनाकालदेखि नै खेलकुदसँगै विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ। उनले हरेक वर्ष खेल गतिविधि सञ्चालन गर्दै युवालाई जागरुक बनाउने कार्यक्रम निरन्तर गरिँदै आएको जानकारी दिए।
फाइनल खेलको उद्घाटन गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव खगराज अधिकारीले गरेका थिए। प्रतियोगिताको उत्कृष्ट खेलाडी रामघाट फुटबल क्लबका सुमित श्रेष्ठ घोषित भए। उनले ट्रफी प्राप्त गर्दै प्रतियोगितामा आफ्नो प्रभावशाली प्रदर्शन प्रमाणित गरे।
