
पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा-२२ कालाबाङमा पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको मुख्य उद्देश्य पोखरामा आदिवासी जनजातिको संस्कार र पर्यटन प्रवर्द्धनमा पत्रकारको योगदानलाई उजागर गर्नु रहेको थियो।
फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका प्रशासकीय अधिकृत मक्तिनाथ अर्यालले पर्यटन प्रवर्द्धनमा पत्रकारको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै, आदिवासी जनजातिको सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धनमा सबैको सहयोग अपरिहार्य भएको बताए।
कार्यक्रममा व्यवसाय केन्द्र पोखराका प्रम नवराज अधिकारीले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा प्रस्तुत गर्दै, मेला तथा महोत्सवले पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्याइरहेको बताए। उनले यस वर्ष पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको जानकारी दिए र लक्ष्य हासिल गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि बताए।
फोनिजका संघीय महासचिव समीर बलामीले पर्यटन प्रवर्द्धनमा पोखरा–कास्की मात्र नभई समग्र नेपालकै प्रतिनिधित्व गर्ने दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै आदिवासी जनजातिको संस्कृति र पर्यटनलाई सँगसँगै प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा फोनिजका अध्यक्ष लक्की चौधरी, संघीय सल्लाहकार डण्ड गरुङ, उजिर मगर लगायतले पर्यटन गतिविधि सक्रिय बनाउन र पत्रकारहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्नेमा विचार व्यक्त गरे।
सोही दिन कालाबाङमा फोनिजको तेस्रो त्रैमासिक बैठक पनि सम्पन्न भएको थियो, जसमा संघीय कार्यसमिति, सबै प्रदेशका जिल्ला इन्चार्ज र गण्डकी क्षेत्रका जिल्ला अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमले आदिवासी जनजातिको सांस्कृतिक पहिचान र पर्यटन प्रवर्द्धनमा पत्रकारको योगदानलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ।
