पोखराको आकाशमा सुस्ताउँदै ‘पुतली जहाज’: महँगो शुल्कले खस्कियो साहसिक पर्यटनको चमक

Share:

पोखरा । शिरानमा चाँदी झैं टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । फेदीमा ऐना झैं टल्किएका फेवा, बेगनास र रुपा तालहरू । प्रकृतिको यो अनुपम उपहारलाई चरा झैं स्वतन्त्र भएर आकाशबाट नियाल्नुको मज्जा बेग्लै हुन्छ । पोखराको यही सुन्दरतालाई आकाशको उचाइबाट साक्षत्कार गराउने माध्यम हो- अल्ट्रालाइट, जसलाई स्थानीयहरू मायाले ‘पुतली जहाज’ भन्छन् । तर, कुनै समय पोखराको आकाशमा रङ्गीचङ्गी पुतली झैं देखिने यी जहाजहरू अहिले भने सुस्ताउन थालेका छन् ।

साहसिक पर्यटनको त्यो स्वर्णिम सुरुवात नेपालमा साहसिक हवाई पर्यटनको जग बसाल्ने श्रेय ‘एभिया क्लब’ र यसकी प्रबन्ध निर्देशक नतासा श्रेष्ठलाई जान्छ । ‘एड्भेञ्चरकी माता’ उपनामले चिनिने नतासाले वि.सं. २०५३ मा रुसी साझेदारहरूसँग मिलेर पहिलो पटक नेपालमा अल्ट्रालाइट भित्र्याएकी थिइन् । दक्षिण एसियामै पहिलो पटक पोखराबाट सुरु भएको यो सेवाले छोटो समयमै विश्वभरका पर्यटकको ध्यान खिच्न सफल भयो ।

सुरुवाती दिनमा रुसी पाइलटहरूमा भर पर्नुपर्ने अवस्था रहे पनि अहिले नेपाली युवा पाइलटहरूले नै कुशलतापूर्वक यो जहाज उडाइरहेका छन् । केवल ताल र गुफामा सीमित पोखराको पर्यटनलाई आकाशको उचाइसम्म पुर्‍याउने काम यही ‘पुतली जहाज’ ले गरेको थियो ।

किन हराउँदैछ आकर्षण ?

कुनै समय एउटै कम्पनीले दिनमा ४० वटासम्म उडान भर्ने गरेका थिए । तर, अहिले ती दिन एकादेशको कथा जस्तै बनेका छन् । हाल मुस्किलले दैनिक ४/५ वटा उडान हुने गरेको व्यवसायीहरू बताउँछन् । यसको मुख्य कारण हो, आकाशिएको शुल्क ।

केही वर्षअघिसम्म आठ हजार पाँच सय रुपैयाँमा पाइने उडानको मज्जा अहिले १७ हजार पाँच सय पुगेको छ । नागरिक उड्डयन प्राधिकरणले ‘टेक अफ’ र ‘ल्याण्डिङ’ शुल्कमा गरेको वृद्धिको प्रत्यक्ष असर उडान शुल्कमा परेको हो । शुल्क दोब्बर भएपछि आन्तरिक पर्यटक मात्र होइन, बाह्य पर्यटकसमेत यो गतिविधिबाट टाढिन थालेका छन् ।

एभिया क्लबकी प्रबन्ध निर्देशक नतासा श्रेष्ठ भन्छिन्, “पहिले व्यवसाय धेरै राम्रो थियो, तर अहिले राज्यको नीति र महँगो शुल्कले व्यवसाय धरासायी हुने अवस्थामा पुगेको छ । हवाई पर्यटनलाई प्रवर्द्धन गर्नुपर्ने ठाउँमा उल्टै भार थपिएको छ ।”

विदेशीको रोजाइ, स्वदेशीको गुनासो

पोखराको भूगोल अल्ट्रालाइटका लागि विश्वमै उत्कृष्ट मानिन्छ । ३६० डिग्रीमा हिमाल र तालको दृश्य देखिने भएकाले विदेशी पर्यटकहरू यसलाई विश्वकै उत्कृष्ट उडान अनुभवमध्ये एक मान्छन् । तर, नेपाली पर्यटकका लागि भने यो सेवा अब ‘आकाशको फल’ जस्तै भएको छ ।
अल्ट्रालाइटको अनुभव लिइसकेका पोखरा रामबजारका विकास गुरुङ भन्छन्, “पोखराको आकाशबाट देखिने दृश्य अद्भुत हुन्छ, तर अहिलेको शुल्क धेरै महँगो भयो । यदि शुल्क घटाउने हो भने आन्तरिक पर्यटकको भिड फेरि बढ्न सक्छ ।”

पोखरामा अहिले एभिया क्लब र पोखरा अल्ट्रालाइट प्रालिले मात्र यो सेवा दिइरहेका छन् । निजी क्षेत्रको ठूलो लगानी रहेको यस क्षेत्रलाई जोगाउन राज्यको पर्यटनमैत्री नीतिको अभाव देखिएको छ । दक्ष जनशक्ति हुँदाहुँदै पनि नीतिगत जटिलता र उच्च करका कारण नयाँ लगानीकर्ताहरू पनि आकर्षित हुन सकेका छैनन् ।

पोखराको पहिचान बनेको अल्ट्रालाइटलाई केवल ‘धनीको खेल’ मात्र बनाइनु हुँदैन । यदि राज्यले अवतरण शुल्कमा सहुलियत दिने र प्रवर्द्धनमा सहयोग गर्ने हो भने, पोखराको आकाशमा फेरि ती ‘पुतली जहाज’ हरूले पहिलेकै गतिमा कावा खाने थिए ।

कमेन्ट गर्नुहोस्
Share: