
पोखरा । कास्की जिल्ला परम्परागत रूपमा उर्वर कृषि भूमिका लागि परिचित रहँदै आएको छ। वैदामको वारी, आर्वाको घारी र माझठानाको टारी कहिल्यै नअटुट अन्न भण्डारका रूपमा चिनिन्थे। तर समयसँगै सहरीकरणको चाप बढ्दै जाँदा वैदाम र आर्वाका उर्वर जमिन कंक्रिटका संरचनामा परिणत भए। फेवाताल किनारको वैदाम पर्यटकीय केन्द्रमा रूपान्तरण भयो भने आर्वाको घारी अव्यवस्थित बसोबासको चपेटामा पर्यो।
यी सबै परिवर्तनका बीच पनि माझठानाको टारी भने आजसम्म हरियाली र उत्पादनको प्रतीक बनेर उभिएको छ। साविक माझठाना गाविस र हाल पोखरा महानगरपालिका वडा नं. २८ मा पर्ने यो क्षेत्रका टारीहरू आज पनि फाँटजस्तै फराकिला र हराभरा देखिन्छन्।
टारीको माथिल्लो भागमा रहेको जंगल र बस्तीबाट वर्षासँगै बगेर आउने पातपतिङ्ग र प्राकृतिक मलले तल्लो भागका खेत अझ मलिलो बनाएको छ। यही कारण यहाँ उत्पादन निरन्तर बढ्दै आएको छ। हजारौँ हेक्टरमा फैलिएको यो क्षेत्र आज पनि कृषिप्रधान स्वरूपमै कायम रहनु यसको विशेषता हो।
माझठानाको टारीलाई जीवन्त बनाइराख्ने मुख्य आधार भनेको सिँचाइ व्यवस्था हो। यहाँका अधिकांश खेतमा प्राकृतिक मूल (नतसोत) छन्, जसका कारण वर्षैभरि पानीको सुविधा उपलब्ध छ। सिँचाइको यही सुनिश्चितताले धान, मकै, गहुँ, तोरीदेखि तरकारी र नगदे बालीसम्म उत्पादन सम्भव बनाएको छ।
सहरीकरणको दबाब तीव्र बन्दै जाँदा पनि यो टारी जोगिनु स्थानीय किसानको निरन्तर मेहनत, भूमिप्रतिको आत्मीयता र उत्पादनप्रतिको प्रतिबद्धताको परिणाम हो। यहाँका किसानका लागि टारी केवल जीविकोपार्जनको माध्यम होइन, पुस्तौंदेखि जोडिएको पहिचान पनि हो। जमिन बाँझो राख्नु व्यक्तिगत मात्र नभई राष्ट्रिय उत्पादनमा असर पार्ने सोच आज पनि यहाँ जीवित छ।
पछिल्ला वर्षहरूमा कास्की जिल्लामा कृषि भूमि तीव्र रूपमा घट्दै गएको यथार्थका बीच माझठानाको टारीले फरक कथा सुनाइरहेको छ। विकास र संरक्षण सँगसँगै अघि बढ्न सकिन्छ भन्ने उदाहरण यही टारीले प्रस्तुत गरेको छ।
यदि स्थानीय तह र सरोकारवाला निकायले समयमै कृषि भूमिको संरक्षण, सिँचाइ स्रोतको दीगो व्यवस्थापन र किसानमैत्री प्रोत्साहन कार्यक्रम अघि बढाए, माझठानाको टारी अतीतको सम्झना होइन, भविष्यको खाद्य सुरक्षाको आधार बन्न सक्छ।
कंक्रिटको घेराबीच उभिएको यो हरियो टारी आज पनि जिल्लाको उर्वर भूमि संरक्षणको मौन सन्देश बोकेर उभिएको छ,जहाँ अझै बाँझो जमिन देखिँदैन, जहाँ हरेक मौसममा खेती हुन्छ, र जहाँ माटोको गन्धसँगै किसानको आशा बाँचिरहेको छ।
