गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर पोखरा आइपुग्यो, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा

Share:

पोखरा। पर्यटन प्रवद्र्धनको उद्देश्यसहित आयोजित गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर पोखरा आइपुगेको छ। काठमाडौं–चितवन हुँदै पोखरा आएको अन्तर्राष्ट्रिय बाइक राइडर टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले भव्य स्वागत गरेको हो।

एक्सपल्स राइडर नेपाल क्लब को आयोजनामा भएको बाइक टूरमा १२ जना राइडर सहभागी छन्। टोलीसँग टेवानले पोखराको पर्यटन प्रवद्र्धनका विषयमा अन्तरक्रिया समेत गरेको छ। क्लबका अध्यक्ष कुन्दन श्रेष्ठका अनुसार टोली पहिलो दिन काठमाडौंबाट प्रस्थान गरी शुक्रबार चितवनको सौराहामा बास बसेको थियो। सौराहाबाट शनिबार पोखरा आइपुगेको टोली आइतबार लमजुङको चर्चित घलेगाउँतर्फ प्रस्थान गरेको छ।

काठमाडौं, चितवन र पोखरालाई ‘गोल्डेन ट्र्यांगल’ का रूपमा परिकल्पना गर्दै नेपाल पर्यटन बोर्डको सहयोगमा बाइक टूर आयोजना गरिएको हो। टूरका क्रममा यी सहरसँगै आसपासका पर्यटकीय गन्तव्यहरूको प्रचार-प्रसार गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए।
उनका अनुसार विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) कै अवसरमा टूर गर्ने योजना भए पनि जेनजी आन्दोलनका कारण कार्यक्रम पछि सरेको हो।
“कोरोना महामारीपछि प्रभावित बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आन्तरिक पर्यटन प्रवद्र्धनमा यस्तो बाइक टूर प्रभावकारी हुने विश्वास छ,” उनले बताए।

बाइक टूर टोलीले चितवनमा जिप सफारी, डुंगा सयर तथा दृश्यावलोकन गरेको थियो भने कुमाल होमस्टेमा स्थानीय समुदायसँग अन्तरक्रिया गरेको थियो। पोखरामा विभिन्न पर्यटकीय स्थलको भ्रमणपछि टोली घलेगाउँतर्फ प्रस्थान गरेको हो।

यसअघि सन् २०१९ मा क्लबकै आयोजनामा एक सय जना बाइक राइडरले ७७ वटै जिल्लाको यात्रा गरेका थिए। त्यस्तै, क्लबको समन्वयमा बंगलादेशका राइडरहरू नेपाल आएर मुस्ताङसम्म यात्रा गरेका थिए। बाइक टूर पर्यटन बोर्डको सहयोग तथा सहभागी राइडरहरूको व्यक्तिगत खर्चमा आयोजना गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

अन्तरक्रियामा पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले बाइक टूरले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिने बताए। “पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन यस्ता गतिविधिले महत्त्वपूर्ण भूमिका खेल्नेछ,” उनले भने।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चौबहादुर गुरुङले यात्राले नेपाल र पोखरालाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
टेवानकी निवर्तमान अध्यक्ष तथा टूर सल्लाहकार कमला गिरीले यस्ता कार्यक्रम निरन्तर भइरहे पोखराको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताइन्।

टेवान अध्यक्ष शोभा पाण्डेले पोखरा सबै मौसमका लागि उपयुक्त गन्तव्य भएको सन्देश यो बाइक टूरले प्रवाह गरेको उल्लेख गरिन्। “आन्तरिक र बाह्य दुवै पर्यटन प्रवद्र्धनमा टूरले खेलेको भूमिका प्रशंसनीय छ,” उनले भनिन्। टेवान महासचिव शोभा अधिकारी पौडेलले बाइक टूर टोलीलाई पोखरामा स्वागत गर्न पाउँदा खुशी व्यक्त गरिन्। बाइक टूर टोली सोमबार लमजुङको घलेगाउँबाट पुनः काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: