हरिहर मन्दिरबाट रासस कर्मी हरिप्रसाद बास्तोला सम्मानित

Share:

पोखरा। पोखरा महानगरपालिका वडा नं. १७, महतगौडास्थित ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्व बोकेको सदा शिव सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समितिको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का कर्मी हरिप्रसाद बास्तोला लाई सम्मान गरिएको छ। पत्रकारितामार्फत धार्मिक क्षेत्रको प्रचार-प्रसार तथा संरक्षणमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै उनलाई दोसल्ला, खादा र सम्मानपत्रसहित सम्मान गरिएको हो।

सम्मान कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १७ की वडा अध्यक्ष राधिका शाही योगी ले धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताइन्। उनले समाजको एकताबाट मात्र विकास र निर्माण सम्भव हुने उल्लेख गर्दै धार्मिक संघ–संस्थाको संरक्षण, विकास र प्रवर्द्धनमा महानगरपालिकाले सक्दो सहयोग गर्दै आएको स्पष्ट पारिन्।

वडा अध्यक्ष योगीले सीमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै जनभावनाअनुसार वडाको समग्र विकासमा जोड दिइँदै आएको पनि बताइन्। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य शिवराम भण्डारी, सिता पैला ढट्टेसाँघ आमा समूहकी अध्यक्ष भुमना मल्ला, समाजसेवी नरेन्द्र गिरी लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रममा कोषाध्यक्ष इसारा विरकट्टा थापा ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने सचिव हरिहर भण्डारी ले कार्यक्रम सञ्चालन गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: