
पोखरा । पोखरा सडक महोत्सवको सबैभन्दा ठूलो आकर्षणका रूपमा परिचित सांगीतिक उत्सव यस वर्ष झन् विशेष बन्ने भएको छ । सांगीतिक उत्सवको केन्द्रमा रहने न्यू इयर ईभ स्पेसल कार्यक्रममा तीन दशकपछि एक्स नेपथ्य पोखरामा गुञ्जिने भएको छ ।
नेपथ्य ब्याण्डका स्थापनाकालीन गायकहरू रविन श्रेष्ठ र गौतम गुरुङ पोखरा सडक महोत्सवअन्तर्गत आयोजित ‘हिट्स अफ नाइन्टिज’ कार्यक्रममा लाइभ ब्याण्डसहित प्रस्तुति दिन पोखरा आउन लागेका हुन् । उनीहरू डिसेम्बर ३० मा बेलायत (युके) बाट काठमाडौं हुँदै पोखरा आइपुग्ने कार्यक्रम रहेको छ ।
रेवान पोखराको आयोजनामा लेकसाइड क्षेत्रमा सञ्चालन हुने पोखरा सडक महोत्सवका अवसरमा कोमागाने पार्कमा आयोजना हुने सांगीतिक उत्सवमा आफू प्रस्तुति दिन आउन लागेको जानकारी एक्स नेपथ्यका गायक रविन श्रेष्ठले दिएका छन् ।
युकेमा रहँदै आएका श्रेष्ठले आफू र गौतम गुरुङ लाइभ ब्याण्ड प्रस्तुतीका लागि पूर्ण तयारीमा रहेको बताए । उनका अनुसार पोखरामा ‘छेक्यो छेक्यो देउराली डाँडा’, ‘आँगनै भरी’, ‘नक्कली कान्छी’, ‘आँखैमा झलझली’, ‘गोधुली साँझ’, ‘वर्षातको समय’ लगायतका चर्चित गीतहरू प्रस्तुत गरिनेछ ।
झण्डै ३० वर्षपछि पोखरामा लाइभ प्रस्तुती दिन आउन लागेको बताउँदै श्रेष्ठले भने, “म अत्यन्तै उत्साहित छु । नेपथ्य छाडेपछि नेपालमै पहिलो पटक स्टेजमा गुञ्जिन लाग्दैछु । पोखरेली दर्शकसँग ९० को दशक फेरि बाँड्न पाउँदा गर्व महसुस भइरहेको छ ।”
आफ्नो ओरिजिनल भोकल पोखरेली दर्शकले पहिलोपटक प्रत्यक्ष सुन्न पाउने अवसर भएकाले कार्यक्रम झनै विशेष हुने उनको विश्वास छ । “दर्शकसँगै हामी सबै नोस्टाल्जिक हुनेछौं,” उनले भने । एक्स नेपथ्यका अर्का गायक गौतम गुरुङले पनि न्यू इयर ईभमा पोखरेली दर्शकलाई मनोरञ्जन दिन आफू उत्साहित रहेको बताए ।
“हामी पहिलो पटक पोखरामा लाइभ ब्याण्डमार्फत आउँदैछौं । पोखरेलीलाई ९० को दशकमा फर्काएर आपसी माया अझ सुमधुर बनाउनेछौं,” उनले भने । उनले ‘जोमसोमै बजार’, ‘गण्डकीको तिरैमा’, ‘झरीले रुझेको आकाश’, ‘यार्लिङ कहाँ खस्यो ?’ लगायतका लोकप्रिय गीतहरू प्रस्तुत गरिने जानकारी दिए ।
“यो हाम्रो होमटाउन हो । पोखरामा पहिलो पटक स्टेज चढ्दैछौं । नेपथ्यको ओरिजिनल आवाज पोखरेलीलाई सुनाउन हामी आतुर छौं,” उनले थपे ।
न्यू इयर ईभमा सांगीतिक धमाका
अल टेक नेपालको आयोजनामा हुने पोखरा सांगीतिक उत्सवअन्तर्गत हिट्स अफ नाइन्टिज कार्यक्रममा एक्स नेपथ्यसँगै डि-मर्चा, लेकाली, देउराली र उज्जन शाक्यले पनि लाइभ ब्याण्ड प्रस्तुति दिनेछन् ।
यसै अवसरमा अहिलेकी भाइरल डान्सर कार्टुन क्रुजकी आस्मा विश्वकर्माको विशेष नृत्य प्रस्तुति रहनेछ । उनले चर्चित ‘छिकिरी छिकिरी’ लगायतका गीतहरूमा दर्शकलाई झुमाउनेछिन् ।सांगीतिक उत्सवअन्तर्गत पुस १५ गते गुरुङ समुदायको ल्होसार विशेष कार्यक्रम आयोजना हुनेछ । दिउँसोदेखि साँझसम्म स्वप्न सुमन, केआर लिम्बु र चक्र ब्याण्डको प्रस्तुति रहनेछ ।
दिउँसो सत्रमा प्रिती आले, देउराली ब्याण्डका पूर्व गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालको प्रस्तुति रहनेछ । दीवा कार्यक्रमतर्फ पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेल लगायत लोकदोहोरी कलाकारहरू प्रस्तुति दिनेछन् । पुस १४ गते अन्तरविद्यालय खुला नृत्य प्रतियोगिता, इन्टर-स्कुल ब्याण्ड कम्पिटिसनका विजेता तथा उपविजेताको लाइभ प्रस्तुति रहनेछ ।
अल टेक नेपालको आयोजनामा हुने हिट्स अफ नाइन्टिज कार्यक्रमको मुख्य प्रायोजकमा प्रोटोन गाडी, राइड पार्टनरमा टिभिएस, एजुकेसन पार्टनरमा गण्डकी इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सी रहेका छन् ।
