
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ठूलो परिमाणमा लागू औषधसहित एक जना युवकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गत पुस ४ गते वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पोखरा महानगरपालिका वडा नं. ४ छब्बिसकुरिया क्षेत्रमा ग २० प ६७३९ नम्बरको स्कुटर रोकी चेकजाँच गर्ने क्रममा जिल्ला स्याङ्जा भिरकोट नगरपालिका-३ निवासी २६ वर्षीय जितेन गुरुङलाई पक्राउ गरेको हो ।
चेकजाँचका क्रममा गुरुङले बोकेको झोलाभित्रबाट STAGGAN 25 लेखिएको १९ ट्याब्लेट, NITRAVET 10 लेखिएको ५१ ट्याब्लेट, डायजेपाम ३ एम्पुल, ब्रुफिनोर्फिन ३ एम्पुल तथा फेनेरागन ३ एम्पुलसहित नगद रु. १४ हजार ७ सय बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउपछि कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाउने क्रममा पुस ६ गते पोखरा महानगरपालिका वडा नं. ९ नागढुङ्गा स्थित पर्वत-स्याङ्जा दीपक होटलमा गुरुङ बसोबास गर्दै आएको कोठा नं. १९ मा खानतलासी गरिएको थियो ।
खानतलासीका क्रममा कोठाभित्र लुकाइछिपाइ राखिएको डायजेपाम ९९ एम्पुल, फेनेरागन ९८ एम्पुल, ब्रुफिनोर्फिन ९७ एम्पुल गरी जम्मा २९४ एम्पुल लागू औषध थप बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
लागू औषध ओसारपसार तथा कारोबारमा संलग्न रहेको आशंकामा पक्राउ परेका गुरुङमाथि लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
