फेवाताल संरक्षण पहलद्वारा सामुदायिक सेवा केन्द्र बैदामलाई सामग्री सहयोग

Share:

पोखरा । जेनजी आन्दोलनका क्रममा फेवाताल किनार बैदामस्थित सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको भवन तथा भौतिक संरचना क्षतिग्रस्त भएपछि फेवाताल संरक्षण पहलले कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री सहयोग प्रदान गरेको छ ।

आगजनीका कारण कार्यालयको भवन र भौतिक सामग्री पूर्ण रूपमा नष्ट भएपछि बैदामका आमा समूह, विभिन्न संघसंस्था तथा व्यक्तिहरूको सामूहिक पहलमा भवन पुनर्निर्माण गरिएको थियो । सोही क्रमलाई निरन्तरता दिँदै बुधबार फेवाताल संरक्षण पहलले करिब १ लाख रुपैयाँ बराबरका कुर्सी, टेबल, ल्यापटपलगायतका आवश्यक सामग्री हस्तान्तरण गरेको पहलका अध्यक्ष धर्मराज पहारीले जानकारी दिए ।

उक्त सहयोग अष्ट्रेलिया र नेपालमा रहेका फेवाताल संरक्षण पहलका सदस्य तथा शुभचिन्तकहरूको आर्थिक सहयोगबाट सम्भव भएको उनले बताए ।

फेवाताल संरक्षण पहलका अष्ट्रेलिया संयोजक तथा संस्थापक शंकर कोइरालाले यसअघि पनि पहलले जिल्ला प्रहरी कार्यालय कास्कीलाई आर्थिक सहयोग गरेको उल्लेख गर्दै सामाजिक सुरक्षामा क्रियाशील संस्थालाई सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरे ।

फेवाताल संरक्षण पहल अष्ट्रेलियामा बसोबास गर्ने पोखरेलीहरूको सक्रियतामा फेवाताल संरक्षण र सरसफाइलाई मुख्य उद्देश्य बनाएर स्थापना गरिएको संस्था हो । संस्थाले नियमित रूपमा फेवाताल सरसफाइ तथा संरक्षणसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

यस्तै, फेवाताल संरक्षण पहल बेलायतका संयोजक जोनी पहारीले बेलायतबाट पनि सामुदायिक सेवा केन्द्रका लागि आवश्यक सामग्री सहयोग प्राप्त भएको जानकारी दिए ।

अप्ठ्यारो समयमा प्राप्त सहयोगले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामलाई सामाजिक सेवामा अझ सक्रिय हुन प्रेरणा मिलेको केन्द्रका अध्यक्ष ठाकुरप्रसाद बरालले बताए । उनले भवन पुनर्निर्माणदेखि हालसम्म सहयोग गर्ने बैदामका आमा समूह, विभिन्न संघसंस्था, व्यक्तिगत दाताहरू तथा पछिल्लो चरणमा सामग्री सहयोग गर्ने फेवाताल संरक्षण पहलप्रति धन्यवाद व्यक्त गरे ।

यसै अवसरमा बैदाम महिला विकास समाजले पनि कार्यालयका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: