रिभानको निष्पक्ष माविको ६४औँ वार्षिकोत्सव सम्पन्न

Share:

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका-५ रिभानमा अवस्थित निष्पक्ष माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम बुधबार भव्य रूपमा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव गिरीको अध्यक्षता तथा माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा, विकास र शैक्षिक गुणस्तर सुधारमा केन्द्रित विषयहरू उठान गरिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गुरुङले निष्पक्ष माविको पछिल्लो शैक्षिक गतिविधि सुधारोन्मुख रहेको उल्लेख गर्दै गाउँपालिकाको समग्र शिक्षा क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउन सबै सरोकारवाला साझा धारणा बनाएर अघि बढ्नुपर्ने बताए ।

गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापमा पनि उल्लेखनीय प्रगति हासिल गरेको बताउँदै विद्यालय परिवारप्रति धन्यवाद व्यक्त गरिन् । साथै, पालिकाको तर्फबाट निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाइन् ।

विद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर रावतले प्रस्तुत गरेको प्र.अ. प्रतिवेदनमा विद्यालयको भौतिक, आर्थिक तथा शैक्षिक विकासमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै शिक्षण-सिकाइमा सूचना प्रविधिको प्रयोग, नियमित अतिरिक्त क्रियाकलाप तथा विद्यार्थी प्रतिभा प्रस्फुटनमा विद्यालय निरन्तर क्रियाशील रहेको उल्लेख गरे । पालिका र जिल्ला तहमा समेत विद्यालय शैक्षिक तथा खेलकुद गतिविधिमा अब्बल रहेको प्रतिवेदनमा जनाइएको छ ।

समारोहमा सामाजिक विकास समिति संयोजक एवं वडा नं. ९ का अध्यक्ष हरि बहादुर क्षेत्री, वडा नं. ५ का अध्यक्ष तथा वडा शिक्षा समिति संयोजक नारायणप्रसाद पौडेल, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय ल्वाङका प्रमुख लेखनाथ गौतम, माछापुच्छ्रे-६ बराह माविका प्रधानाध्यापक सुरेश गुरुङ तथा सर्वगुण फुड्स एण्ड किचनका सञ्चालक उषा गिरीलगायतले व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै शैक्षिक गतिविधि अगाडि बढाउनुपर्नेमा जोड दिँदै शुभकामना मन्तव्य व्यक्त गरे ।

वार्षिकोत्सवका अवसरमा विद्यालयको बृहत्तर विकासमा योगदान पुर्‍याउने शिक्षक-कर्मचारी, अभिभावक, पूर्व विद्यार्थी, अक्षयकोषदाता तथा जग्गादातालाई सम्मान गरिएको थियो । साथै, विभिन्न अक्षयकोषबाट सम्बन्धित विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण, एसईईतर्फ सर्वोत्कृष्ट पुरस्कार, दीर्घ सेवा सम्मान तथा शैक्षिक र अतिरिक्त क्रियाकलापअन्तर्गतका विभिन्न पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक-अभिभावक संघका पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक, पूर्वविद्यार्थी, अक्षयकोषदाता तथा स्थानीयबासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

विद्यार्थी झरना दाहालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक सोमनाथ लामिछानेले गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्
Share: