
पोखरा। पशुपालन व्यवसायलाई सुरक्षित बनाउने उद्देश्यसहित तनहुँका कृषकहरू पशु बिमातर्फ तीव्र रूपमा आकर्षित हुन थालेका छन्। जिल्लामा हालसम्म ७१ हजार २१८ वटा पशुको बिमा गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
पशुपालनतर्फ कृषकको रुचि बढेसँगै जोखिम न्यूनीकरणका लागि पशु बिमाप्रति सचेतना बढेको केन्द्र प्रमुख रविनसन अधिकारीले जानकारी दिए। उनका अनुसार बिमामा सबैभन्दा धेरै कुखुरा समेटिएका छन्। हालसम्म ५९ हजार ९५९ कुखुराको बिमा गरिएको छ।
केन्द्रका अनुसार बिमामा परेका पशुहरूमा एक हजार ७४२ गाई, ७४० भैँसी, एक हजार ५८१ बाख्रा, ६९६ बङ्गुर र छ हजार ५०० माछा रहेका छन्। बिमा गरिएका पशुको कुल मूल्य २९ करोड ७५ लाख ४० हजार रुपैयाँ पुगेको छ।
मूल्यको हिसाबले सबैभन्दा धेरै गाईको १५ करोड ६७ लाख ८० हजार रुपैयाँ बराबरको बिमा गरिएको छ। यसैगरी भैँसीको ६ करोड ६६ लाख, बाख्राको १ करोड ५८ लाख १० हजार, बङ्गुरको १ करोड ७४ लाख, कुखुराको ४ करोड ४३ लाख ६ हजार तथा माछाको ५१ लाख ४ हजार रुपैयाँ बराबरको बिमा गरिएको छ।
बिमा शुल्कमा कृषकको योगदान पनि उल्लेखनीय रहेको केन्द्रले जनाएको छ। गाईको बिमामा कृषकले १५ लाख ६७ हजार, भैँसीमा ६ लाख ६६ हजार, बाख्रामा १ लाख ५८ हजार, बङ्गुरमा १ लाख ७४ हजार, कुखुरामा ३ लाख ४४ हजार र माछामा ८ हजार रुपैयाँ बेहोरेका छन्।
पशुधनको तथ्यांकअनुसार तनहुँमा हाल ४९ हजार ७४२ गाई, ५३ हजार ३८३ भैँसी, ३ लाख ८८ हजार १७६ बाख्रा, ७२३ भेडा, ४६ हजार ८१३ सुँगुर-बङ्गुर, ९ लाख ९८ हजार ९३६ कुखुरा र ११ हजार ९८७ हाँस रहेका छन्। यसमध्ये १३ हजार ९४२ दुधालु गाई र २१ हजार ५०३ दुधालु भैँसी रहेका छन्।
