पोखरामा हिमालय क्लवको साधारण सभा सम्पन्न, पूर्वराष्ट्रिय भलिबल खेलाडी योगेन्द्र बस्नेत सम्मानित

Share:

पोखरा। पूर्व राष्ट्रिय भलिबल खेलाडी योगेन्द्र बहादुर बस्नेत पोखरामा विशेष सम्मानबाट सम्मानित भएका छन्। पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरद्वारा प्रदान गरिने स्वर्गीय उदय बहादुर बस्नेत स्मृति भलिबल पुरस्कारबाट बस्नेतलाई सम्मान गरिएको हो।

क्लवको २९औँ वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि क्लवका संस्थापक अध्यक्ष तीर्थमान तामाङ, मानार्थ सदस्य एवं पूर्व मन्त्री कुमार खड्का, पोखरा-१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना, पूर्व वडाध्यक्ष जीवनप्रसाद आचार्य, मानार्थ सदस्य वेनीबहादुर बस्नेत, स्वर्गीय उदयबहादुर बस्नेतकी धर्मपत्नी गणेशकुमारी बस्नेत तथा पूर्व अध्यक्ष जीवननारायण श्रेष्ठले संयुक्त रूपमा नगद १० हजार रुपैयाँ, सम्मानपत्र र साल प्रदान गरी सम्मान गरे।

सम्मानित खेलाडी बस्नेतले प्राप्त पुरस्कार रकममा ५ हजार रुपैयाँ थप गरी १५ हजार रुपैयाँ क्लवकै अक्षयकोषमा सहयोग गरेर उदाहरणीय कार्य गरेका छन्। सोही अवसरमा क्लवले विभिन्न विधामा उत्कृष्ट योगदान दिने सदस्यहरूलाई पनि अवार्ड प्रदान गरेको छ।

वेष्ट प्रोजेक्ट अवार्ड दुर्गालाल श्रेष्ठ, वेष्टको-अर्डिनेटर अवार्ड प्रकाश थापा, उत्कृष्ट कर्मचारी अवार्ड लक्ष्मी पौडेल र सरीता अधिकारी वर्षकै उत्कृष्ट सदस्य अवार्ड सूचना अधिकारी शिवराज देवकोटालाई प्रदान गरेको छ।

कार्यक्रम उद्घाटन गर्दै संस्थापक अध्यक्ष तामाङले सामाजिक रूपान्तरणमा संघ-संस्थाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै हिमालय क्लवले समाजमा पुर्‍याएको योगदानको प्रशंसा गरे।

प्रतिभा छनोट समितिका संयोजक रामबहादुर बाँनियाले सम्मानित व्यक्तिको परिचय गराएका थिए। कार्यक्रममा पूर्व अध्यक्ष सुशील बस्नेत, सदस्य लक्ष्मी श्रेष्ठ तथा सम्मानित खेलाडी बस्नेतलगायतले क्लवको सामाजिक योगदानबारे धारणा राखेका थिए।

कार्यक्रम क्लवका अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो भने सञ्चालन सचिव तुलबहादुर बस्नेतले गरेका थिए। सभाले सचिव र कोषाध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ।

यस्तै, पोखरा-१६ मा रहेको बाटुलेचौर हिमालय कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा दुर्गालाल श्रेष्ठ चयन भएका छन्। बिहीबार सम्पन्न नवौँ वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो।

सञ्चालक समितिका सदस्यहरूमा शिवराज देवकोटा, गोविन्दबहादुर थापा, लक्ष्मी श्रेष्ठ, झलक थापा मगर, प्रकाश थापा र मनु बस्नेत चयन भएका छन्।

त्यस्तै, लेखा समितिमा राजेन्द्र शाही ठकुरी, शर्मिला थापा र विश्व केसी चयन भएका छन्। सभाले सहकारीको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदन समेत पारित गरेको छ।

साधारण सभामा वक्ताहरूले सहकारीले स्थानीय कृषक र समुदायको आर्थिक सशक्तीकरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए।

कमेन्ट गर्नुहोस्
Share: