
काठमाडौं, असोज २५ । त्रिभुवन आर्मी क्लब रेडबुल राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
सोमबार जगदम्बा लुम्बिनी फुटबल क्लब रुपन्देहीलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै आर्मी १५ खेलबाट ३० अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आर्मीलाई जिताउन नवयुग श्रेष्ठ र टंक बस्नेतले समान २–२ गोल गर्दा भरत खवासले १ गोल थपे । नवयुग अहिलेसम्म १३ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको तालिकामा शीर्ष स्थानमा छन् ।
लिगमा आर्मी शीर्ष स्थानमा पुग्दा एक खेल कम खेलेको थ्रीस्टार क्लब २९ अंकसहित दोस्रो तथा मनाङ–मर्स्याङ्दी क्लब २८ अंकबाट तेस्रो स्थानमा झरेको छ ।
नौ टोली सहभागी प्रतियोगितामा सबै खेल खेलेको मोरङ फुटबल क्लब विराटनगर ७ अंकका साथ पुछारमा रहँदा रुपन्देहीले ८ अंकका साथ आठौं स्थानमा लिग सकाएको छ ।
लिगअन्तर्गत् मंगलबार थ्रीस्टार र सशस्त्र प्रहरी भिड्दै छन् । १४ खेलबाट २३ अंकको सशस्त्र उपाधि होडबाट बाहिरिइसकेको छ ।
