
पोखरा । पोखरा महानगरपालिका क्षेत्रमा पहिलो पटक सुन्तला मेला २०८२ सम्पन्न भएको छ । “नेपालको राष्ट्रिय फल सुन्तलाको उपभोग, स्थानीय उत्पादन, पर्यटन र अर्थतन्त्रमा सहयोग” भन्ने नाराका साथ आयोजित मेलाले स्थानीय कृषक, उत्पादन र बजारीकरणलाई नयाँ उत्साह दिएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, वडा नं. २१ को कार्यालय तथा वडा स्तरीय कृषि सञ्जालको संयुक्त आयोजनामा वडा नं. २१ स्थित दोपहरे हर्राबोटमा मेला सम्पन्न भएको हो ।
मेलामा उत्कृष्ट सुन्तला कृषकहरूलाई नगदसहित सम्मान गरिएको छ । आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार ४० रोपनी क्षेत्रफलमा करिब ७ सय सुन्तलाका बोट लगाएकी कृषक प्रभा पौडेल लाई नगद १० हजारसहित सम्मान गरिएको छ । यस्तै १२ रोपनी क्षेत्रफलमा २४० बोट सुन्तला खेती गरेका दीपेन्द्रराज आचार्य लाई नगद ७ हजार र १३ रोपनीमा करिब १९० बोट सुन्तला लगाएका विजय सुवेदी लाई नगद ५ हजारसहित सम्मान गरिएको छ ।
मेलामा आयोजित सुन्तला ग्रेडिङ प्रतियोगिता मा भीममाया सुवेदी प्रथम, भोजबहादुर थापा द्धितिय र लक्ष्मी थापा तृतीय भए । उनीहरूले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यस्तै सुन्तला खाने प्रतियोगिता मा श्रीधर बराल प्रथम, अर्जुन अधिकारी द्धितिय र बाबुराम ढकाल तृतीय भएका छन् । उनीहरूलाई क्रमशः ५ केजी, ३ केजी र २ केजी सुन्तला पुरस्कार प्रदान गरिएको थियो ।
उत्कृष्ट झाँकी प्रदर्शन तर्फ बालन एवं कला संस्कृति प्रतिष्ठान नेपाल प्रथम हुँदै ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भयो । प्रगतिशील आमा समूह द्धितिय र राधाकृष्ण आमा समूह तृतीय भए । उनीहरूलाई क्रमशः ३ हजार र २ हजार रुपैयाँ प्रदान गरिएको छ ।
सुन्तला स्टल सजावट प्रतियोगिता मा हर्राबोट कृषक समूह प्रथम, नव सिर्जना कृषक समूह द्धितिय र वि गार्डेन कृषि फार्म तृतीय भएका छन् । विजेताहरूले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यसअघि मेलाको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए। उद्घाटन समारोहमा नगर प्रमुख आचार्यले महानगरपालिका कृषकहरूको साथमा रहेको प्रतिबद्धता व्यक्त गर्दै मल, बीउबिजन, उपकरण तथा प्रविधिमा आवश्यक सहयोग निरन्तर गरिने बताए।
उनले स्थानीय उत्पादनको बजारीकरणका लागि ढुवानी तथा कृषि बजार सञ्चालनमा सहजीकरण भइरहेको उल्लेख गर्दै पोखराको उत्पादन अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने गरी गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए। वडा नं.२१ का अध्यक्ष दीपक सुवेदी ले आफ्नो वडा सुन्तलाको पकेट क्षेत्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए। प्राकृतिक विपत्तिका कारण कृषकहरूले भोग्दै आएका समस्याप्रति ध्यानाकर्षण गराउँदै उनले क्षतिपूर्ति र थप अनुदानका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताए ।
पोखरा महानगरपालिका क्षेत्रमा यस वर्ष करिब ३५० हेक्टर क्षेत्रफलमा ३,५०० देखि ४,००० मेट्रिक टन सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । यस व्यवसायमा करिब ५ सय कृषक आबद्ध छन् भने सुन्तला बिक्रीबाट १० करोड रुपैयाँभन्दा बढी कारोबार हुने अपेक्षा गरिएको छ ।
