पोखरामा ‘द कन्टेन्डर फाइट सिरिज-३’ सुरु

Share:

पोखरा । साक यान्त मुवाथाईको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज-३’ सुरु भएको छ। शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन प्रिमेडिकल जाँच, सम्झौता हस्ताक्षर, प्राविधिक ब्रिफिङ तथा फेसअफ कार्यक्रम सम्पन्न भएको हो।

यस प्रतियोगितामा मुवाथाईसँगै एमएमए (मिक्स मार्सल आर्ट्स) का रोमाञ्चक फाइटहरू पनि समावेश छन्। प्रतियोगिताको मुख्य इभेन्ट शनिबार आयोजना हुँदैछ। पहिलो र दोस्रो संस्करणको सफलतापछि तेस्रो संस्करणमा केज फाइट थपिँदा प्रतियोगिता झन् रोमाञ्चक बनेको छ।

प्रतियोगितामा तीन राष्ट्रका ४८ फाइटर सहभागी छन्। भारतका ८ सहरबाट ११ फाइटर, श्रीलंकाबाट १ फाइटर र बाँकी नेपाली खेलाडी सहभागी भएका छन्। शनिबार कुल २३ वटा फाइट हुनेछन्।

मुख्य इभेन्टमा गण्डकी प्रदेशकी सुस्मिता थापा मगर र भारतकी सरिता राठोर आमनेसामने हुँदैछन्। मुख्य इभेन्टको विजेताले ८० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ४० हजार रुपैयाँ पाउनेछ। साथै नकआउट जित हासिल गरेमा मुख्य इभेन्टमा ३० हजार रुपैयाँ बोनस र अन्य फाइटमा १० हजार रुपैयाँ बोनस प्रदान गरिनेछ।

मुख्य फाइटलाई लिएर उत्साहित सुस्मिता थापा मगरले भारतमा समेत फाइट खेलेको अनुभव रहेकाले प्रतियोगिता निकै प्रतिस्पर्धात्मक हुने बताइन्। उता, प्रतिद्वन्द्वी सरिता राठोरले पोखरामा फाइट खेल्न पाउँदा खुसी लागेको बताउँदै सुस्मिताको खेल देखिसकेकाले कडा टक्कर दिने दाबी गरिन्।

प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्री ले पर्यटकीय राजधानी पोखरामा मार्सल आर्ट्सप्रति आकर्षण बढाउन केज फाइट समावेश गरिएको जानकारी दिए।

“मुवाथाईमा नयाँपन दिन तेस्रो संस्करण केजमा आयोजना गरेका हौं। फाइट नाइट आफैंमा रोमाञ्चक खेल हो। पोखराको पर्यटन प्रवर्द्धनलाई समेत ध्यानमा राखेर यो आयोजना गरिएको हो,” उनले भने। उनका अनुसार यो गण्डकी प्रदेशकै पहिलो केज फाइट हुनसक्ने बताइएको छ।

मुवाथाई र एमएमएलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगितामा प्रवेश निःशुल्क राखिएको छ। प्रतियोगिता शनिबार दिउँसो १ बजेदेखि बाराहीघाटस्थित खुल्ला चौरमा आयोजना हुनेछ।

कमेन्ट गर्नुहोस्
Share: