
पोखरा । हेम्जा आवासीय विद्यालय, पोखरा-२५ हेम्जाको आयोजनामा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। माइन्ड टेक पोखराको सहकार्यमा आयोजित उक्त कार्यक्रममा विद्यालयका नर्सरीदेखि कक्षा १० सम्मका अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण भक्तराज रसाइली ले गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीको पठनपाठन, दैनिकी क्रियाकलापसँगै शैक्षिक, नैतिक, व्यवहारिक तथा मानसिक विकासलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। साथै अभिभावक र विद्यालयबीचको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल केशब शरण पौडेल ले जानकारी दिए।
“विद्यार्थीको क्षमता अभिवृद्धिका लागि अभिभावक, शिक्षक र विद्यालयले वहन गर्नुपर्ने दायित्वबोधका विषयमा केन्द्रित रहेर यो कार्यक्रम आयोजना गरिएको हो,” संस्थापक प्रिन्सिपल पौडेलले भने, “यस कार्यक्रमबाट सकारात्मक उपलब्धि हासिल हुने विश्वास विद्यालय परिवारले लिएको छ।”
अभिभावक नै विद्यार्थीको पहिलो पाठशाला भएकाले अभिभावकलाई नयाँ ज्ञान प्रदान गर्ने र उनीहरूले भोग्दै आएका समस्या समाधानमा सहयोग पुर्याउने विश्वास विद्यालयले लिएको छ। कार्यक्रमले विद्यार्थी तथा अभिभावकमा देखिने नकारात्मक आचरण अन्त्य गर्दै असल बानी-व्यवहारको विकास र जिम्मेवारीपन बढाउन महत्वपूर्ण भूमिका खेलेको अभिभावकहरूको भनाइ थियो।
कार्यक्रममार्फत आफूले सिकेको ज्ञान व्यवहारमा उतार्न र त्यसलाई बालबालिकासँग बाँड्न सहज भएको बताउँदै अभिभावकहरूले विद्यालयको यस पहलप्रति उत्साह व्यक्त गरे। समाजमा बढ्दै गएको अराजकता तथा खराब बानी-व्यवहार अन्त्य गरी असल व्यक्ति निर्माणमा यस्तो कार्यक्रमले थप हौसला दिने उनीहरूको धारणा थियो।
सहजीकरण गर्दै भक्तराज रसाइली ले शिक्षा र संस्कारले विद्यार्थीलाई हरेक क्षेत्रमा सक्षम बनाउने उल्लेख गरे। “असल संगत, सकारात्मक वातावरण र विद्यालय-अभिभावकबीचको सहकार्य भएमा विद्यार्थीलाई सही दिशामा अघि बढाउन सकिन्छ,” उनले भने, “यी वातावरण सिर्जना गर्ने जिम्मेवारी विद्यालय, शिक्षक र अभिभावक सबैको हो।”
कार्यक्रम शिक्षक-अभिभावक संघका अध्यक्ष प्रकाशचन्द्र सापकोटा को अध्यक्षतामा सम्पन्न भएको थियो। विद्यालयले शैक्षिक गुणस्तर वृद्धिका लागि यस्ता अभिमुखिकरण तथा सशक्तीकरण कार्यक्रमहरू निरन्तर गर्दै आएको जनाएको छ।
