
पोखरा। पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालय मा आज “चाईनिज कल्चर एक्सपेरियन्स डे” कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा पोखराका-८ विद्यालयमा चाईनिज भाषा पढाइरहेका ८ जना चाईनिज भोलिन्टियर शिक्षकहरुले विद्यार्थीलाई चिनियाँ संस्कृति, भाषा, अक्षर लेखन, कागज काटेर वस्तु निर्माण, चपस्टिक खेल जस्ता गतिविधि मार्फत प्रयोगात्मक शिक्षा प्रदान गरे।
कुमुदिनी होम्सका संस्थापक अध्यक्ष अशोक पालिखेले कार्यक्रममा सहभागी प्रिन्सिपल, विद्यार्थी र काठमाडौंबाट आएका पाहुनाहरुलाई स्वागत गर्दै पोखरामा चाईनिज भाषाको सिकाइ उपलब्धिमूलक भएको बताए।
उनले भने, “पोखरामा धेरै पर्यटक चाईनाबाट आउने भएकाले भाषाको ज्ञानले विद्यार्थीलाई भविष्यमा रोजगार र आर्थिक अवसरमा मद्दत पुग्नेछ। चाईना-नेपालको पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउन शिक्षा र संस्कारको माध्यम महत्वपूर्ण छ।”
कार्यक्रममा एशोसिएशन अफ चाईनिज नेशनल्स एण्ड ओभरसिज चाईनिज इन पोखरा का उपाध्यक्ष सियाङ साओहुवा र नेपाली प्रतिनिधि सन्देश गुरुङले विद्यार्थीलाई चिनियाँ संस्कृति बुझाउने अवसर पाएकोमा खुसी व्यक्त गरे।
उनीहरुले यस्तो प्रयोगात्मक कार्यक्रमले विद्यार्थीमा सिर्जनशीलता र भाषा सिकाइमा रुचि जगाउने बताए। सुपरभाईजर याङ नियान ले नेपाल-चाईना सम्बन्धको लामो इतिहासलाई शिक्षामार्फत अझ प्रगाढ बनाउन यो कार्यक्रम महत्वपूर्ण भएको बताए। कार्यक्रममा भोलिन्टियर शिक्षक हान सिउयिङ को संयोजनमा विद्यार्थीहरूले सक्रिय सहभागिता जनाए।
कार्यक्रमले विद्यार्थीहरूलाई केवल भाषा मात्र नभई संस्कृति, परम्परा र सिर्जनात्मक अभ्यासमा समेत योगदान पु¥याउने विश्वास गरिएको छ।
