लालीगुराँस बहुउद्देश्यीय सहकारीद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६४ युनिट रगत संकलन

Share:

पोखरा । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ। पोखरा-१२ लालीगुराँस टोलस्थित सहकारीको कार्यालय परिसरमा आयोजित उक्त कार्यक्रम रक्तसञ्चार केन्द्र कास्कीको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्य, स्थानीय बासिन्दा तथा स्वयंसेवकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि भरतराज पौडेलले पहिलो रक्तदाता शिवराज घिमिरेलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन मन्तव्यमा उनले रक्तदानलाई मानव सेवा र सामाजिक उत्तरदायित्वसँग जोडिएको अत्यन्तै महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै यस्ता सामाजिक अभियानहरूले समाजलाई अझ सशक्त र जिम्मेवार बनाउने बताए।

कार्यक्रम संयोजक देव कुमार श्रेष्ठका अनुसार रक्तदान कार्यक्रममार्फत ६४ युनिट रगत संकलन गरिएको छ। उनले कार्यक्रममा सहभागी सबै रक्तदाताप्रति हार्दिक आभार व्यक्त गर्दै सहकारीले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। साथै, कार्यक्रम सफल बनाउन उपसमितिका सदस्यहरू फणीनारायण भट्टराई र गायत्री कुँवरले महत्वपूर्ण भूमिका निर्वाह गरेको संयोजक श्रेष्ठले जानकारी दिए।

सहकारीका कानूनी सल्लाहकार रुद्र न्यौपानेले रक्तदान कार्यक्रमले समाजमा परोपकार, सहयोग र मानवीय भावनाको विकास गर्नुका साथै स्थानीय समुदायमा रक्तदानप्रति चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

सहकारीका अध्यक्ष दुर्गा बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका सल्लाहकार प्रा.डा. यदुनन्दन उपाध्याय, कुँडहर सेवा समाजका अध्यक्ष दया बराल, भद्रकाली आमा समूहकी अध्यक्ष अन्जना घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सहकारीका सचिव गोपाल अधिकारीले गरेका थिए।

रक्तदान कार्यक्रममा सहभागी सबै रक्तदातालाई रक्तदानको फोटो समावेश गरिएको प्रमाणपत्र वितरण गरिएको सचिव अधिकारीले जानकारी दिए। सहकारीका पदाधिकारी, सदस्य तथा स्थानीय समुदायको सक्रिय सहभागिताले कार्यक्रम अत्यन्तै प्रभावकारी र सफल बनेको आयोजक संस्थाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: