पोखरा सडक महोत्सवमा लेकाली र देउराली पुनः गुञ्जिने

Share:

पोखरा । पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा आयोजना हुने सांगीतिक उत्सवमा पोखराका चर्चित व्याण्ड लेकाली र देउराली पुनः गुञ्जिने भएका छन्। गत वर्ष पोखरामा आयोजित ब्याक टु नाइन्टिज कार्यक्रमबाट पुनः सक्रिय बनेका यी दुई व्याण्डले यस वर्षको न्यू इयर ईभलाई झनै विशेष बनाउने भएका हुन्।

रेवान पोखराको आयोजनामा लेकसाइड क्षेत्रमा सञ्चालन हुने पोखरा सडक महोत्सवको हिट्स अफ नाइन्टिज अन्तर्गत पुस १६ गते बेलुका आयोजना हुने न्यू इयर ईभ विशेष कार्यक्रममा लेकाली र देउराली व्याण्डको प्रस्तुति रहने अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए।

लेकाली व्याण्डका गायक नवीन गुरुङ र भाइ गुरुङले ‘यो मुटुमा’, पहिलो नजर, कहाँबाट, वनमा कस्तुरी, मुटु चिरी, पोखरेली नानी, सपनीमा अञ्जुली, नजाउन छाडीजस्ता लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन्।

त्यस्तै, देउराली व्याण्डले ढुंगे साँघुको मेलामा, लुकीचोरी, रेशम, दालभात तरकारीलगायतका चर्चित गीत प्रस्तुत गर्नेछ। सो अवसरमा देउरालीले लोक स्रष्टा स्वर्गीय कल्याण शेरचनको ‘सोह्र वर्षे उमेरैमा…’ गीतमार्फत श्रद्धाञ्जलीसमेत अर्पण गर्ने गुरुङले बताए।

न्यू इयर ईभलाई अझ विशेष बनाउन अहिलेकी भाइरल डान्सर तथा कार्टुन क्रुकी सदस्य आस्मा विश्वकर्माको विशेष नृत्य प्रस्तुति रहनेछ। उनले ‘छिकिरी छिकिरी’लगायतका भाइरल गीतहरूमा दर्शकलाई नचाउनेछिन्।

यस वर्ष न्यू इयर ईभ विशेषमा एक्स-नेपथ्यको पनि विशेष प्रस्तुति रहनेछ। नेपथ्यका स्थापनाकालीन गायक रविन श्रेष्ठ र गौतम गुरुङले लाइभ व्याण्ड प्रस्तुति दिनेछन्। रविन श्रेष्ठले ‘छेक्यो छेक्यो देउराली डाँडा’, आँगनै भरी, नक्कली कान्छीजस्ता गीत गाउनेछन् भने गौतम गुरुङले जोमसोमै बजार, गण्डकीको तिरैमा, झरीले रुझेको आकाश, यार्लिङ कहाँ खस्यो ?लगायतका गीत प्रस्तुत गर्नेछन्।

यसका साथै भाइरल गायक उज्जन शाक्यको लाइभ प्रस्तुति र पोखरेली चर्चित व्याण्ड डिमर्चाको विशेष प्रस्तुति पनि रहनेछ।

महोत्सव अन्तर्गत पुस १५ गते दिउँसो तमु (गुरुङ) समुदायको ल्होसार कार्यक्रम आयोजना हुनेछ। सोही दिन अपराह्न ४ बजेदेखि चर्चित व्याण्ड स्वप्न सुमन र केहर एण्ड द लुङ्गा गुञ्जिनेछन्। स्वप्न सुमनले ‘जे छौ तिमी’, कसरी भनूँ तिमीलाई, बाचा भयो, म तिम्रोलगायतका लोकप्रिय गीत प्रस्तुत गर्नेछन्। सो दिन चक्र व्याण्डको पनि विशेष प्रस्तुति रहनेछ।

पुस १५ गते दिउँसो प्रिती आले, देउरालीका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालको प्रस्तुति रहनेछ। दीवा कार्यक्रमतर्फ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतले दर्शकलाई मनोरञ्जन दिनेछन्।

त्यस्तै, केहर एण्ड द लुङ्गाले ‘सररर’, तिमीलाई सम्झेर, बैगुनी, तिमी बिना जस्ता अहिलेका भाइरल गीतहरू लाइभ प्रस्तुति मार्फत सुनाउनेछन्। यी दुवै व्याण्ड पोखरेली दर्शकको रोजाइ बन्ने अपेक्षा गरिएको सञ्चालक गुरुङले बताए।

महोत्सव अन्तर्गत पुस १४ गते अन्तरविद्यालय खुला नृत्य प्रतियोगिता आयोजना हुनेछ भने दिउँसोदेखि साँझसम्म इन्टर स्कुल व्याण्ड कम्पिटिसनका विजेता तथा उपविजेताहरूको सांगीतिक प्रस्तुति रहने जनाइएको छ।

पोखरा सडक महोत्सवले यस वर्ष पनि नाइन्टिजको सम्झना, आधुनिक संगीत र स्थानीय प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्दै पोखरेली दर्शकलाई सांगीतिक उत्सवको अनुभव गराउने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: