कविशिरोमणि लेखनाथ पौड्यालको १४२ औं जन्मजयन्ती आजदेखि पोखरामा सुरु

Share:

पोखरा । कविशिरोमणि लेखनाथ पौड्यालको १४२ औं जन्मजयन्तीको अवसरमा आयोजना गरिएको त्रिदिवसीय कार्यक्रम आइतबारदेखि सुरु भएको छ । विभिन्न साहित्यिक तथा सृजनात्मक कार्यक्रमसहित जन्मजयन्ती मनाउने उद्देश्यअनुसार पहिलो दिन लेखनाथ काव्य परिचर्चा, खुल्ला कविता प्रतियोगिता तथा विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएका छन् ।

लेखनाथ लायन्स क्लबका अध्यक्ष लायन बोधराज लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन सत्रमा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले स्वागत मन्तव्य व्यक्त गर्दै कविशिरोमणि लेखनाथका कविता वाचन गरेका थिए ।

कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व, नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्तले कविशिरोमणि लेखनाथ पौड्यालको काव्यगत विशेषतामाथि विस्तृत परिचर्चा गरेका थिए ।

काव्य परिचर्चा सत्रमा ‘लेखनाथका काव्यमा अद्वैत वेदान्त दर्शन’ विषयमा विद्यावारिधि गरेका डा. बोधराज ढकाल, संस्कृत क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख डा. जगन्नाथ रेग्मी, साहित्यकार नारायण मरासिनीलगायतले लेखनाथका काव्यकृतिको बहुआयामिक विश्लेषण प्रस्तुत गरेका थिए ।

त्रिदिवसीय कार्यक्रम अन्तर्गत पौष १४ गते कविशिरोमणि जन्मस्थल सरसफाइ कार्यक्रम र पौष १५ गते अर्चलेमा मूल समारोह आयोजना गरिने छ । उक्त कार्यक्रमका लेखनाथ उद्योग वाणिज्य संघ, लेखनाथ पत्रकार मञ्च, लेखनाथ लायन्स आमा समूहहरू, विभिन्न युवा क्लब तथा बेगनास ताल बस सञ्चालक समिति सह-आयोजक रहेका छन् ।

विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा लक्ष्मी आदर्श विद्यालयकी मनिषा खनाल प्रथम, रिलायन्स पब्लिककी निष्ठा भट्राई द्वितीय, लिटल फ्लावरकी सुदिक्षा पौडेल र जेसिआईकी सुरक्षा बराल तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।

यसैगरी, राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता अन्तर्गत छन्दतर्फ रामलाल कुमाल प्रथम, प्रेमनारायण ढकाल द्वितीय, तथा श्रीधर पाण्डेय र कृष्णप्रसाद पौडेल तृतीय भएका छन् ।

गद्यतर्फ केनिका गिरी प्रथम, उमाकान्त पोखरेल द्वितीय, र सुदिना पौडेल तृतीय भएका छन् । कार्यक्रममा लेखनाथ क्षेत्रका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्दै कविशिरोमणि लेखनाथ पौड्यालको साहित्यिक योगदानको स्मरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: