भाचोकमा परिवार नियोजन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम

Share:

पोखरा। नेपाल परिवार नियोजन संघ कास्कीले कास्कीको मादी गाउँपालिका-१० स्थित भाचोकमा परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा आमा समूहका सदस्यहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो।

ग्रामीण तथा दुर्गम क्षेत्रलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा परिवार नियोजन, सुरक्षित मातृत्व तथा यौन तथा प्रजनन स्वास्थ्यका विविध पक्षबारे जानकारी प्रदान गरिएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए।

भाचोक स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा करिब ४० जनाको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै भाचोक स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर गुरुङले आफ्नो क्षेत्रमा यस्ता जनचेतनामूलक कार्यक्रम आयोजना गरिएकोमा खुशी व्यक्त गर्दै यसले समुदायको स्वास्थ्य सचेतना बढाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा भाचोक स्वास्थ्य चौकीका प्रमुख दीपक तिवारीले पनि विचार व्यक्त गरेका थिए। साथै, नेपाल परिवार नियोजन संघ कास्कीका वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारी तथा स्टाफ नर्स अञ्जना भण्डारीले सहजीकरण गरेका थिए।

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले सञ्चालन गरेका थिए।

यस कार्यक्रमले स्थानीय समुदायमा परिवार नियोजन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञान अभिवृद्धि हुनुका साथै महिलाको नेतृत्व क्षमता सुदृढ हुने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: