‘नेपाल कला यात्रा’ अभियान : पोखरामा छैटौँ कला प्रदर्शनी सम्पन्न

Share:

पोखरा । नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने महाअभियान अन्तर्गत “नेपाल कला यात्रा” पुस्तक प्रकाशनका लागि आयोजित “विश्वको उत्कृष्ट गन्तव्य नेपाल छैटौँ कला प्रदर्शनी” सफलतापूर्वक सम्पन्न भएको छ। २१औँ लेखनाथ महोत्सव-२०८२ अन्तर्गत सम्पन्न उक्त प्रदर्शनी “शान्ति, पर्यटन र कला प्रवर्द्धन” भन्ने मूल नाराका साथ आयोजना गरिएको हो। प्रदर्शनीमा विश्वकला यात्री तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्य प्राज्ञ नगेन सिंह द्वारा सिर्जित कलाकृतिहरू प्रदर्शनमा राखिएका थिए।

प्रदर्शनीमा नेपालको ७७ वटै जिल्लाका कम्तीमा तीन/तीन वटा हेर्न, सुन्न र घुम्नलायक पर्यटकीय स्थलहरू समेटिएका चित्रकलाहरू प्रस्तुत गरिएको थियो, जसले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटन सम्भावनालाई जीवन्त रूपमा उजागर गरेको थियो।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारी ले यस कला प्रदर्शनीमार्फत “नेपाल कला यात्रा” नामक रंगीन पुस्तकलाई संसारका १९७ भाषामा प्रकाशन गर्ने दीर्घकालीन लक्ष्य राखिएको जानकारी दिइन्। उनका अनुसार यस अभियानले नेपाललाई विश्व पर्यटनको केन्द्रमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्नेछ।

अभियानका अभियन्ता कलाकार नगेन सिंह ले यो महाअभियानमा आशीर्वाद स्वरूप एक सय रुपैयाँ योगदान गरेर जो-कोही सहभागी हुन सक्ने व्यवस्था गरिएको जानकारी दिए। हालसम्म यस अभियानमा १ हजार ८ सय १५ जनाभन्दा बढी व्यक्तिहरू सहभागी भइसकेका छन्।

नेपाल कला यात्रा पुस्तक प्रकाशन समिति संयोजक चिन्तामणि खरेल ले एक सय रुपैयाँ वा सोभन्दा बढी योगदान गर्ने सबै सहभागीहरूको नाम पुस्तकमा समावेश गरिने बताए। यसले अभियानप्रति सहभागीहरूको भावनात्मक सम्बन्ध अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

यस पुस्तकका लागि कलाकार सिंहले नेपालका ७७ वटै जिल्लामा पुगेर त्यहाँका प्राकृतिक सौन्दर्य, संस्कृति र पर्यटकीय गन्तव्यहरू समेट्दै चित्रकला सिर्जना गरेका छन्। उनको यस योगदानको कदरस्वरूप २०७९ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘प्रबल जनसेवाश्री’ मानपदवी प्रदान गरिएको थियो।

कलाकार सिंहका अनुसार “नेपाल कला यात्रा” पुस्तक नेपाली भाषामा प्रकाशित भइसकेको छ भने बाँकी १९७ भाषामा अनुवाद तथा प्रकाशन प्रक्रिया अघि बढिरहेको छ। विश्वका विभिन्न देशका विश्वविद्यालय तथा पुस्तकालयहरूमा सम्बन्धित देशकै मातृभाषामा कम्तीमा ३०० प्रति निःशुल्क पुस्तक वितरण गर्ने योजना समेत रहेको उनले बताए।

अभियानको दीर्घकालीन लक्ष्य नेपालमा वार्षिक कम्तीमा एक करोड पर्यटक भित्र्याउने, पर्यटन प्रवर्द्धनमार्फत देशको आर्थिक विकास गर्ने र नेपालीलाई समृद्ध बनाउने रहेको सिंहको भनाइ छ।

यस महाअभियानमा पूर्व प्रधानमन्त्रीदेखि मन्त्री, मुख्यमन्त्री, संघीय तथा प्रदेश सांसद, पत्रकार, शिक्षाविद्, धर्मगुरु, साहित्यकार, प्राज्ञ, कलाकार, व्यवसायी तथा कला/संस्कृतिका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको छ। सहभागी हुनेहरूमा ऱ्यापर हाकिम, लाउरे, महानायक राजेश हमाल, नायिका रेजिना उप्रेती, गायक/गायिका राजु लामा, दीपक बज्राचार्य, ज्योति मगर, शान्ति श्री परियार, पशुपति शर्मा, प्रकाश दुतराज, एलिना चौहान लगायतका चर्चित कलाकारहरू रहेका छन्।

नेपाल कला क्षेत्रमा प्रतिष्ठित नामका रूपमा चिनिएका कलाकार नगेन सिंह नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य रहनुका साथै अरनिको युवा पुरस्कार, स्वर्ण पदक, नाफा पश्चिमाञ्चल क्षेत्रीय प्रथम पुरस्कार लगायत दर्जनौँ सम्मान तथा पुरस्कारबाट पुरस्कृत भइसकेका छन्। उनले कला विषयमा स्नातकोत्तर अध्ययन गर्नुका साथै हालसम्म १२ पटक एकल कला प्रदर्शनी सम्पन्न गरिसकेका छन्।

कमेन्ट गर्नुहोस्
Share: