
पोखरा, । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ लेखनाथमा सञ्चालन भएको २१औँ संस्करणको लेखनाथ महोत्सव ११ करोडभन्दा बढीको कारोबार गर्दै सोमबार सम्पन्न भएको छ। १२ दिनसम्म सञ्चालन भएको महोत्सवले समापनसम्म आइपुग्दा ११ करोड २० लाख रुपैयाँको कारोबार गर्न सफल भएको छ भने ३ लाख ३५ हजार दर्शकले अवलोकन गरेका छन्। मेलाका प्रचार-प्रसार संयोजक ध्रुवबाबु भट्टराई ले लक्षित कारोबार र दर्शक सङ्ख्याभन्दा धेरै सफलता प्राप्त भएको जानकारी दिए।
समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य ले व्यापारिक मेला तथा महोत्सवले स्थानीय अर्थतन्त्र मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले मेला-महोत्सवले क्रेता र विक्रेतालाई एउटै थलोमा ल्याएर वस्तु, सेवा र उत्पादनको बजारीकरणमा सहयोग पुर्याउने धारणा राखे।
जेन्जी आन्दोलनका कारण व्यवसायीहरूमा परेको क्षति र खस्किएको मनोबलप्रति ध्यानाकर्षण गर्दै मेयर आचार्यले आर्थिक अवस्थालाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा गम्भीर चिन्तन आवश्यक रहेको बताए।
महानगरले पोखरा आसपास सञ्चालन हुने मेला-महोत्सवलाई नजुध्ने गरी सहजीकरण गर्दै आएको उल्लेख गर्दै उनले साविक लेखनाथ क्षेत्रको विकासका लागि बेगनास तालमा वाटर स्पोर्ट्स सञ्चालन गर्ने योजना तीन वर्षदेखि अघि बढ्न नसकेको बताए। योजना ढिला भइसकेको भन्दै उनले यसको कार्यान्वयनका लागि स्थानीयको साथ र सहयोग आवश्यक रहेको बताए।
पोखरा-मुग्लिन सडक निर्माण अन्तिम चरणमा रहेको उल्लेख गर्दै उनले यसपछि पोखरा–लेखनाथको दूरी घट्ने बताए। साथै लेखनाथको विकासमा महानगरले कुनै विभेद नगरेको, बरु ठूला योजनाहरू लेखनाथमै केन्द्रित गरिएको स्पष्ट पार्दै अबका दिनमा लेखनाथवासीले मर्का महसुस गर्न नपर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा ले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुर्याउने भन्दै रूपा र पोखराको एकीकृत विकासका लागि संयुक्त योजना आवश्यक रहेको सुझाव दिए।
यस्तै पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा ले साविक लेखनाथ क्षेत्रको विकासका लागि सामाजिक संघ-संस्था र उद्योग-व्यवसायीहरू एकै ठाउँमा बसेर एकीकृत विकास योजना बनाउनुपर्ने आवश्यकता औंल्याए।
लक्ष्यभन्दा बढी सफलता : आयोजक
लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष तथा महोत्सवकी मूल संयोजक जानुका अधिकारी पराजुली ले २१औँ संस्करणसम्म आइपुग्दा लेखनाथ महोत्सवले आफ्नै पहिचान स्थापित गर्न सफल भएको बताइन्। उनले भव्य र सभ्य दर्शक, उत्पादक र उपभोक्तालाई एउटै थलोमा जोडेर व्यापार र पर्यटन प्रवर्द्धन गर्न महोत्सव सफल भएको बताइन्।
९ करोड कारोबार र २ लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य राखिए पनि महोत्सवले अपेक्षाभन्दा धेरै सफलता हासिल गरेको उनको दाबी छ। महोत्सव सफल हुनुमा लेखनाथभित्रका संघ-संस्था, व्यवसायी, विभिन्न जातजाति, आमा समूह तथा सम्पूर्ण लेखनाथवासीको एकता र सहकार्य मुख्य कारण रहेको उनले बताइन्।
संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाका अनुसार समापन दिन विशेष गरी किनमेलका लागि दर्शकको भीड बढेको र स्टलका सामान केही सस्तो भएपछि कारोबारमा उल्लेख्य वृद्धि भएको हो। समापन कार्यक्रममा विभिन्न विधामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार प्राप्त गर्ने व्यवसायी, दर्शक र कलाकारलाई सम्मान गरिएको थियो।
महोत्सवबाट हुने बचत रकम प्रस्तावित औद्योगिक क्षेत्र निर्माणका लागि पहल तथा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रममा खर्च गरिने जनाइएको छ। संघका अध्यक्ष जानुका अधिकारीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझा ले गरेका थिए भने धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य ले गरेका थिए।


