
पोखरा । पोखराका चार वटा बैंकले जिल्ला मालपोत कार्यालय कास्की लाई सेवा प्रवाह सहज बनाउने उद्देश्यले कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण गरेका छन्। मालपोत कार्यालयबाट प्रवाह हुने सेवा सहज बनाउन नविल बैंक, सिटिजन्स बैंक र ग्लोबल आइएमई बैंक को तर्फबाट दुई थान कम्प्युटर, साथै हिमालयन बैंक को तर्फबाट एक थान कम्प्युटर र प्रिन्टर कार्यालयलाई प्रदान गरिएको हो।
गत भदौ २४ गते जेनजी आन्दोलन का क्रममा मालपोत कार्यालयमा आगलागी हुँदा कार्यालयसँगै त्यहाँ रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका थिए। कार्यालय जलेसँगै मालपोतबाट प्रवाह हुने सेवा पूर्ण रूपमा ठप्प भएको थियो।
सेवा सूचारु गराउने उद्देश्यले पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको संयोजकत्वमा सहजीकरण समिति गठन गरी तत्काल सहयोग जुटाउने अभियान सुरु गरिएको थियो। सोही समितिको अगुवाइमा विभिन्न संघ-संस्थाको सहकार्यबाट कार्यालयको अस्थायी मर्मत, नयाँ ट्रष्ट निर्माण तथा कम्प्युटर, फर्निचरलगायत आवश्यक सामग्री जुटाएर सेवा पुनः सञ्चालनमा ल्याइएको हो।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतम ले मालपोत कार्यालयको सेवा सूचारु गर्न बैंकर्स एसोसिएसन गण्डकी लाई सहयोगका लागि आग्रह गरिएको र सोही अनुरूप विभिन्न वित्तीय संस्थाबाट सहयोग प्राप्त भएको जानकारी दिइन्।
सामग्री हस्तान्तरण कार्यक्रममा सहभागिता
सोमबार आयोजित हस्तान्तरण कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, महासचिव शोभा गौतम, बैंकर्स एसोसिएसन गण्डकीका अध्यक्ष हरि ढकाल, नविल बैंकका गण्डकी प्रादेशिक प्रमुख निराजन भण्डारी, सिटिजन्स बैंकका गण्डकी प्रादेशिक प्रमुख हरि घिमिरे, ग्लोबल आइएमई बैंकका प्रदेश प्रमुख सुशोभन देवकोटा, हिमालयन बैंकका गण्डकी प्रदेश प्रमुख रवीन्द्रभक्त श्रेष्ठ, हिमालयन बैंक पृथ्वीचोक शाखा प्रमुख सुमिता नेपाल, नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन पोखराका अध्यक्ष मौसम कार्की लगायतको उपस्थिति रहेको थियो।
उक्त सामग्री मालपोत कार्यालय कास्कीका प्रमुख कालीबहादुर भुजेल लाई हस्तान्तरण गरिएको हो। मालपोत प्रमुख भुजेलले हाल कार्यालयबाट दैनिक सेवा प्रवाहमा कुनै कमी हुन नदिइएको बताउँदै जलेका भौतिक संरचनाको पुनर्निर्माणमा भने समय लाग्ने जानकारी दिए।
यसअघि पनि लेखापढी व्यवसायी, गण्डकी आवास तथा घरजग्गा व्यवसायी समिति लगायतका विभिन्न संघ-संस्थाले मालपोत कार्यालयको सेवा सूचारु गराउन सहयोग गरेका थिए।
