
पोखरा । पोखरा महानगरपालिका-८, सिमलचौरस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिको १४औँ वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै धार्मिक एवं सामाजिक व्यक्तित्व वीरेन्द्रनारायण विजुक्छेले धार्मिक ज्ञान र चेतनाले समाजलाई नैतिक, सुसंस्कृत र समृद्ध बनाउने बताए । उनले नैतिक मूल्य र संस्कार जोगाउन धार्मिक चेतनाको भूमिका अपरिहार्य रहेको उल्लेख गरे ।
समितिका अध्यक्ष दामोदर सिग्देलले यस क्षेत्रको महत्वपूर्ण धार्मिक धरोहरका रूपमा रहेको पशुपतिनाथ मन्दिरको संरक्षण, प्रवर्द्धन र विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । उनले “धर्म बाँचे मात्र संस्कार बच्ने र संस्कारले नै समाजलाई असल बनाउने” स्पष्ट पारे ।
कार्यक्रममा वडा सदस्य गोविन्द बराल, संस्थापक अध्यक्ष बाबुराम पौडेल, सल्लाहकार तथा समाजसेवी परशुराम बराल, श्रीराम टोल विकास समितिका अध्यक्ष कृषिराम पौडेल, नेपाल सरकारका पूर्व सहसचिव प्रेमराज गिरीलगायत वक्ताहरूले समितिले धार्मिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा गरेको योगदानको प्रशंसा गरे ।
साधारण सभाले सचिव कृष्णहरि सिग्देल र कोषाध्यक्ष बालकृष्ण बरालद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ ।
व्यवस्थापन समितिका अध्यक्ष दामोदर सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसचिव देवका पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव कृष्णहरि सिग्देलले गरेका थिए ।
सो अवसरमा मन्दिर विकास तथा विविध गतिविधिमा सहयोग पुर्याउने सहयोगदाताहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो । हाल समितिमा ४०५ जना आजीवन सदस्य र ९३ जना साधारण सदस्य आबद्ध रहेका छन् ।
