पोखरा सडक महोत्सव: बोट रेसमा प्रथमलाई खसी, दोस्रोले बोका र तेस्रोले भाले पाए

Share:

पोखरा । रेवान पोखराको आयोजनामा जारी २७औँ पोखरा सडक महोत्सवअन्तर्गत मंगलबार फेवातालमा रोमाञ्चक डुङ्गा दौड (बोट रेस) प्रतियोगिता सम्पन्न भएको छ । दर्शकको उत्साहजनक उपस्थितिका बीच सम्पन्न प्रतियोगितामा खुला र संस्थागत गरी दुई विधामा प्रतिस्पर्धा गराइएको थियो ।

खुला समूह अन्तर्गत हेमन्त राई, विवश भण्डारी र अनिश परियार सम्मिलित टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्‍यो । सजेस कंसाजु, राज तामाङ र राजकुमार तामाङको टोलीले द्वितीय स्थान हात पार्दा कुमार जलारी, गणेश जलारी र कृष्ण जलारीको टोली तृतीय भयो ।

त्यस्तै, संस्थागत समूहतर्फ रुद्र भुजेल, धनबहादुर परियार र विपिन गुरुङ सम्मिलित फेवा डुङ्गा व्यवसायी संगठनको टोलीले प्रथम स्थान प्राप्त गर्‍यो । कृष्ण आचार्य, हरि भुजेल र तीर्थराज सुवेदी सम्मिलित टान गण्डकीको टोली द्वितीय तथा विकास कडेल, रवि प्रसाद आचार्य र श्याम लामिछाने सम्मिलित नेपाल पर्यटन यातायात व्यवसायी संघको टोली तृतीय स्थानमा रह्यो ।

प्रतियोगितालाई अझै रोचक बनाउँदै आयोजकले विजेता टोलीलाई परम्परागत तथा मौलिक पुरस्कार प्रदान गरेको थियो । प्रथम हुने टोलीले खसी, दोस्रोले बोका र तृतीय हुने टोलीले भाले पुरस्कार प्राप्त गरे ।

महिलाहरू मात्र सम्मिलित रेवानको महिला टोलीलाई विशेष प्रोत्साहनस्वरूप टोकला चियाको तर्फबाट नगद ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

विजेता टोलीलाई नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने, पोखरा महानगरपालिका-६ का वडा अध्यक्ष विष्णु भट्टराई, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, महोत्सव संयोजक बसन्त गौतम, खेलकुद कार्यक्रम संयोजक सुमन भट्टराईलगायतले एक समारोहका बीच पुरस्कार वितरण गरे ।

महोत्सवमा मंगलबारदेखि रस्साकसी प्रतियोगिता समेत सुरु भएको छ । मंगलबार तमु समुदायको महान पर्व ल्होसार परेकाले महोत्सव स्थलमा दर्शकहरूको उल्लेख्य घुइँचो लागेको थियो ।

पोखरा सडक महोत्सवले खेलकुद, संस्कृति र पर्यटनलाई एकै साथ प्रवर्द्धन गर्दै उत्सवको माहोललाई थप रंगीन बनाइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: