“पर्वहरूले राष्ट्रिय एकता र सांस्कृतिक पहिचान सुदृढ बनाउँछन्”-प्रदेश प्रमुख भट्ट

Share:

पोखरा । तमु (गुरुङ) समुदायले आज नयाँ वर्ष तथा सर्प वर्ग (सप्ह्री ल्हो) को विदाइ र घोडा वर्ग (त ल्हो) को आगमनको अवसरमा धुमधामका साथ मनाइरहेको तमु ल्होछार (ल्होसार) को अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा प्रदेश प्रमुख भट्टले नेपालको मौलिक सांस्कृतिक परम्पराको संरक्षण र संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत आर्थिक तथा सामाजिक रूपमा समृद्ध राष्ट्र निर्माणमा तमु समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको उल्लेख गरेका हुन् ।

उनले भने, “तमु ल्होछारजस्ता पर्वहरूले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्नुका साथै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास लिएको छु ।”

तमु ल्होछार पर्वले तमु जाति मात्र नभई सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, सांस्कृतिक पहिचान र मौलिक संस्कृतिको संरक्षणमा नयाँ ऊर्जा प्रदान गर्ने अपेक्षा व्यक्त गर्दै प्रदेश प्रमुख भट्टले तमु समुदायसहित समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।

गुरुङ (तमु) समुदायले हरेक वर्ष पुस १५ गते तमु ल्होछारलाई नयाँ वर्षका रूपमा मनाउने परम्परा रहेको छ । यस अवसरमा नयाँ वर्षको स्वागतसँगै उत्पादन भएको नयाँ अन्नलाई सामूहिक रूपमा न्वागी चखाउने पर्वका रूपमा समेत मनाउने गरिएको गुरुङ समुदायका अगुवाहरूले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: