
पोखरा । जानकी माध्यमिक विद्यालय, पोखरा-१७ मा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। शुभ अवसर ग्राम नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत ४० जना विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाले विभिन्न प्रलोभन देखाएर मानव तथा मानव अंगको बेचबिखन गर्न बाध्य बनाउने जो-कोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याए।
उनले टोल-छिमेकमा हुने यस्ता गतिविधिको पहिचान गरी समाजलाई सचेत बनाउन विद्यार्थी वर्गको भूमिका महत्वपूर्ण हुने बताए। साथै, गरिबीको बहानामा स्वदेश वा विदेशमा हुने मानव तस्करीविरुद्ध सिंगो समाज एकजुट हुनुपर्नेमा जोड दिए।
शुभ अवसर ग्राम नेपालका कार्यक्रम संयोजक जनतेष्टले मानव बेचबिखनसम्बन्धी विद्यमान कानुनी अवस्था र त्यसविरुद्ध समाजले निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रस्तुति दिएका थिए। उनले संस्थाले पोखरा-२५, हेमजामा बाल संरक्षण गृह सञ्चालन गर्दै आएको जानकारी दिँदै सामाजिक महाशाखा, सिविन तथा राष्ट्रिय बाल परिषद्को सिफारिसमा १८ वर्षमुनिका २४ जना बालबालिकालाई अभिभावकत्व प्रदान गर्दै आएको बताए।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको थियो। संस्थाका अध्यक्ष साहाया जान्सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अजुर्न कडेल, शिक्षक तुलसी गिरी लगायतले मानव बेचबिखनविरुद्ध सबैको साथ, सहयोग र सचेतना अपरिहार्य रहेको धारणा व्यक्त गरे।
