
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको लेकसाइडमा सञ्चालन भइरहेको २७औँ सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका वडा नम्बर ६, लेकसाइड क्षेत्रमा पुस १३ गतेदेखि सुरु भएको महोत्सवका क्रममा सडकमै मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, सिसाका बोतल फुटाउने तथा आपसमा झगडा गरी सार्वजनिक शान्ति भंग गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले महोत्सव स्थलमा शान्ति सुरक्षा कायम गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले पक्राउ परेका १४ जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। साथै, महोत्सव अवधिभर सुरक्षा व्यवस्था थप कडा बनाइएको प्रहरीले जनाएको छ।
प्रहरीले सार्वजनिक स्थलमा मादक पदार्थ सेवन, झै–झगडा तथा उच्छृङ्खल गतिविधि नगर्न सर्वसाधारणलाई आग्रहसमेत गरेको छ।
