एपीएफ र लाङ्दीदेवी ३३औँ त्रिवेणी कपको सेमिफाइनलमा

Share:

पोखरा । साबिक विजेता एपीएफ क्लब र लाङ्दीदेवी क्लब ३३औँ त्रिवेणी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। बेशिसहरस्थित त्रिवेणी रंगशालामा बिहीबार सम्पन्न रोमाञ्चक खेलमा एपीएफ क्लबले ठाडाराई समाजलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्‍यो। निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।

एपीएफका तर्फबाट सुमन श्रेष्ठ, दीपेश धिमाल, प्रदीप लामा, मणिकुमार लामा र सन्तोष खत्रीले सफल टाइब्रेकर प्रहार गरे। ठाडाराईका लागि आषिश चापागाईं, शिसिर लेखी, करिम र देवेन्द्र तामाङले गोल गरे भने उत्सव राईको प्रहार विफल भयो।

कार्डको वर्षा भएको खेलमा चौथो मिनेटमै यमीले गोल गर्दै ठाडाराईलाई अग्रता दिलाएका थिए। तर, ४९औँ मिनेटमा प्रदीप लामाले गोल फर्काउँदै एपीएफलाई खेलमा पुनरागमन गराए। खेलमा एपीएफका मणिकुमार लामा, प्रदीप लामा, बुद्धिमान राई र दीपेश धिमालले पहेंलो कार्ड पाए भने ठाडाराईका देवेन्द्र तामाङ र यमी पनि कार्डको भागी बने।

अब एपीएफले फाइनल प्रवेशका लागि आयोजक त्रिवेणी युथ क्लब र लमजुङ मर्स्याङ्दी क्लबबीचको विजेतासँग सेमिफाइनल खेल्नेछ।

उही दिनको अर्को खेलमा ‘ए’ डिभिजन क्लब न्यूरोड टिम (एनआरटी) लाई टाइब्रेकरमा ९–८ ले पराजित गर्दै लाङ्दीदेवी क्लब पनि सेमिफाइनलमा प्रवेश गरेको छ। यससँगै एनआरटी प्रतियोगिताबाट बाहिरिने काठमाडौंको पाँचौँ क्लब बनेको छ। यसअघि समाज कल्याण, श्री भगवती, चित्लाङ एफसी र सातदोबाटो युथ क्लब प्रतियोगिताबाट बाहिरिइसकेका छन्।

निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। लाङ्दीदेवीका कप्तान आशिष गुरुङ, रणदीप पौडेल, सरोज गुरुङ, रोशन पहारी र पदम भट्टराईले गोल गरे। यस्तै, सुजन डंगोल, प्रमिज गच्छादर, बिशण गुरुङ र गणेश हिमालले पनि गोल गरे भने आदित्य शाक्यको प्रहार सफल हुन सकेन।

एनआरटीका तर्फबाट रोशन खड्का, सानेम लिम्बू, विज्ञान खड्का, कप्तान कृतिशरत्न छुन्जु, पुजन होना, विवेक गुरुङ, माइकल गर्बुजा र जुनियरले गोल गरे। चेतन थारु र शोता आत्सोमीको प्रहार भने गोलमा परिणत हुन सकेन।

अब लाङ्दीदेवीले फाइनल प्रवेशका लागि ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेड र लालीगुराँसबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: