कांग्रेसको वनभोज : नेतालाई मटन, सर्वसाधारणलाई चिकेन

Share:

सिरहाको धनगढीमाई नगरपालिका-१४ स्थित सर्रेअम्बासमा नेपाली कांग्रेस, सिरहाले बिहीबार आयोजना गरेको वनभोज कार्यक्रम विवादमा परेको छ। अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित वनभोजमा सहभागीहरूबीच खानपानमै विभेद गरिएको भन्दै चौतर्फी आलोचना सुरु भएको छ।

जिल्ला सभापति रामचन्द्र यादवको अगुवाइमा भएको वनभोज कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव सहभागी थिए। साथै, मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री जंगीलाल रायलगायत नेता पनि कार्यक्रममा उपस्थित थिए।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री यादव र मन्त्री राय सरकारी गाडी प्रयोग गरी स्थलमार्ग हुँदै पुगेका थिए भने बागमती प्रदेशका मुख्यमन्त्री बानियाँ हेलिकप्टरमार्फत कार्यक्रममा सहभागी भएका थिए। वनभोजका नाममा गरिएको यस्तो तडकभडक र सरकारी साधनको प्रयोगलाई लिएर आलोचना चर्किँदै गएको छ।

आलोचनाकै बीच वनभोजमा खानपानमा समेत छुट्याइएको खुलेको छ। कार्यक्रममा सहभागी नेताहरूलाई मटन र कार्यकर्ता तथा सर्वसाधारणलाई चिकेन खुवाइएको पाइएको हो। कांग्रेस जिल्ला सहसचिव रामबाबु यादवले नेतालाई मटन र सर्वसाधारणलाई चिकेन खुवाइएको स्वीकार गरेका छन्।

उनका अनुसार शाकाहारीका लागि दही र आलु–गोभीको तरकारीको व्यवस्था गरिएको थियो। “चिकेन धेरै खपत भयो, मटन त्यति भएन,” उनले भने, “मटन नेता र भीआईपीका लागि मात्रै थियो।”

वनभोज कार्यक्रममा करिब तीनदेखि चार हजार नेता तथा कार्यकर्ता सहभागी भएको यादवले बताए। उनका अनुसार सुरुमा १० हजारसम्म सहभागी उतार्ने योजना थियो। खाना पकाउँदै भेटिएका भान्सेले करिब १ हजार किलो चिकेन र ३ सय किलो मटन पकाइएको जानकारी दिएका छन्।

तर, कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले भने वनभोजमा कुनै प्रकारको भेदभाव नभएको दाबी गरेका छन्। उनले कार्यक्रममा कुनै तडकभडक नभएको र जम्मा २०–२५ हजार रुपैयाँ मात्रै खर्च भएको बताएका छन्।

“कुनै भेदभाव भएको होइन, सबैले सबै खानेकुरा खाएका हुन्,” उनले भने, “कुन चिज कति खपत भयो भन्ने हिसाबकिताब गर्न बाँकी छ।”

वनभोजका नाममा सरकारी सवारी साधनको प्रयोग र सहभागीबीच देखिएको असमान व्यवहारले कांग्रेसको उक्त कार्यक्रमलाई थप विवादास्पद बनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: