२१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १ लाख ४९ हजार म्यादी प्रहरी भर्ना हुँदै, गृह मन्त्रालयले बनायो मापदण्ड

Share:

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना तथा खटनपटनको मापदण्ड तयार गरेको छ । शुक्रबार गृह मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच बसेको बैठकले मापदण्ड टुंग्याएको हो ।

शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीले आ-आफ्नो तर्फबाट भर्ना गर्नुपर्ने जनशक्तिको प्रस्ताव गृह मन्त्रालयमा बुझाउने छन् । गृहसचिवबाट स्वीकृति भएपछि निर्वाचन प्रहरी भर्ना प्रक्रिया औपचारिक रूपमा सुरु हुने गृह मन्त्रालयले जनाएको छ ।

गृहका एक अधिकारीका अनुसार आइतबारसम्म मापदण्ड स्वीकृत गर्ने तयारी गरिएको छ । “अब लगभग सबै कुरा टुंगिएको छ । भोलि र पर्सिसम्म सबै प्रक्रिया पूरा गरेर प्रहरीलाई पठाउँछौँ,” ती अधिकारीले भने, “त्यसपछि प्रहरीले आफ्नो कोटा अनुसार भर्ना प्रक्रिया अगाडि बढाउँछन् ।”

गृह मन्त्रालयले नेपाल प्रहरीलाई १ लाख ३४ हजार निर्वाचन प्रहरी भर्ना गर्न अनुमति दिने तयारी गरेको छ । सशस्त्र प्रहरी बललाई १५ हजार म्यादी प्रहरी भर्ना गर्न स्वीकृति दिइनेछ । नेपाल प्रहरीले १ लाख ३७ हजार ६४४ र सशस्त्र प्रहरीले १६ हजार जनशक्ति माग गरे पनि केही घटाएर स्वीकृति दिन लागिएको हो ।

निर्वाचन प्रहरी भर्नाका लागि आवश्यक बजेट अर्थ मन्त्रालयले सुनिश्चित गरिसकेको छ । सोही बजेटको आधारमा दुवै सुरक्षा निकायले मापदण्ड तयार गरेका हुन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले गृह मन्त्रालयबाट स्वीकृति आएलगत्तै भर्ना प्रक्रिया सुरु हुने जानकारी दिए ।

१० दिन तालिम, एक महिना खटनपटन

मापदण्ड अनुसार भर्ना भएका निर्वाचन प्रहरीलाई १० दिनको तालिम दिइनेछ । त्यसपछि करिब एक महिना निर्वाचन सुरक्षामा खटाइने व्यवस्था गरिएको छ । नेपाल प्रहरीले भर्ना गरेका निर्वाचन प्रहरी नेपाल प्रहरीसँगै र सशस्त्र प्रहरीले भर्ना गरेका जनशक्ति सशस्त्र प्रहरीसँगै परिचालन हुनेछन् । निर्वाचन प्रहरीले प्रहरी जवान सरह सेवासुविधा पाउनेछन् । उनीहरूलाई बिमा, पोसाक र रासन भत्ताको व्यवस्था समेत गरिनेछ । पूर्व सुरक्षाकर्मी तथा यसअघिका निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई विशेष प्राथमिकता दिइने गृह मन्त्रालयले जनाएको छ ।

यसअघि २०७९ को निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी खटाइएको थियो । यसपटक निर्वाचन आयोगले मतदानस्थल संख्या बढाएकाले निर्वाचन प्रहरीको संख्या पनि करिब ३५ हजारले थप गरिएको हो । आगामी निर्वाचनमा देशभर १० हजार ९६७ मतदानस्थल रहने छन्, जुन अघिल्लो निर्वाचनभन्दा १६८ ले बढी हो । तीमध्ये करिब ३ हजार ५ सय मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ ।

यस निर्वाचनमा सशस्त्र प्रहरीले पहिलो पटक निर्वाचन प्रहरी भर्ना गर्ने भएको छ । स्ट्राइकिङ टोलीमा १८ जनासँगै अब ६ जना निर्वाचन प्रहरी थपिने छन् । मोबाइल गस्तीमा यसअघि ७ जना सशस्त्र प्रहरी रहने गरेकोमा अब १२ जनाको टोली खटाइनेछ, जसमा ७ जना सशस्त्र प्रहरी र ५ जना निर्वाचन प्रहरी हुनेछन् ।

यता, निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन नेपाल प्रहरीले कार्य विभागका प्रमुख अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीको कमान्डमा छुट्टै सेल गठन गरी तयारी तीव्र पारेको छ ।

कमेन्ट गर्नुहोस्
Share: