पोखराको लक्ष्मी माविमा दुई करोडको पुस्तकालय भवन निर्माण हुँदै, अत्याधुनिक बन्ने दाबी

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा झण्डै दुई करोड रुपैयाँको लागतमा आधुनिक पुस्तकालय भवन निर्माण हुने भएको छ। लायन्स क्लब इन्टरनेशनलको अनुदान, विद्यालय तथा स्थानीय सहयोगमा निर्माण हुन लागेको उक्त भवनको सोमबार औपचारिक शिलन्यास गरिएको हो।

शिलन्यास समारोहमा बोल्दै वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले पुस्तकालय भवन निर्माणपछि विद्यार्थी, शिक्षक र समुदायको शैक्षिक गुणस्तर सुधारमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे। उनले सामुदायिक विद्यालयको सुधारमा पूर्व विद्यार्थीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै, जहाँ रहे पनि आफुले अध्ययन गरेको विद्यालयप्रति उत्तरदायित्व सम्झन आग्रह गरे।

पुस्तकालय भवन निर्माणपछि आवश्यक पाठ्यपुस्तक तथा सूचना प्रविधिका सामग्री उपलब्ध गराउन पूर्व विद्यार्थीहरूलाई सहयोग गर्न अध्यक्ष थापाले आह्वान गरे।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ ‘आई’ का निर्वतमान गभर्नर विनोद ढुंगानाले आफू अध्ययन गरेको विद्यालयमा लायन्समार्फत योगदान गर्न पाउँदा खुसी लागेको बताए। उनले डिष्ट्रिक्ट गभर्नर रहँदा परिकल्पना गरिएको योजना लायन्सको अन्तर्राष्ट्रिय फण्डमार्फत सम्भव भएको स्पष्ट पारे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक जगन्नाथ अधिकारी र निर्माण व्यवसायी भक्तबहादुर बानियाँले तोकिएको समयमै भवन निर्माण सम्पन्न हुने प्रतिबद्धता जनाए।

लायन्स क्लब इन्टरनेशनल ३२५ ‘आई’ मार्फत प्राप्त परियोजनाको कुल लागत एक करोड ९७ लाख रुपैयाँ रहेको छ। जसअन्तर्गत लायन्स फाउन्डेसनबाट एक लाख अमेरिकी डलर अनुदान प्राप्त भएको छ भने बाँकी रकम विद्यालय र स्थानीय सहयोगदाताबाट जुटाइने प्रधानाध्यापक अधिकारीले जानकारी दिए।

भवन निर्माणको जिम्मा टिम वान कन्स्ट्रक्सन कम्पनीले लिएको छ भने आठ महिनाभित्र निर्माण सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गरिनेछ। यस परियोजनामा लायन्स क्लब अफ पोखरा अर्घौले समन्वय गरेको निर्वतमान गभर्नर ढुंगानाले जानकारी दिए।

शिलन्यास कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ ‘आई’ का पदाधिकारी, विद्यालयका शिक्षक-कर्मचारी, स्थानीय समाजसेवी, शिक्षाप्रेमी तथा जनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: