विन्ध्यवासिनी माविले ७९औँ वार्षिकोत्सव मनाउने, रक्तदानदेखि सम्मान र सरसफाइसम्म विविध कार्यक्रम

Share:

पोखरा। पोखरा महानगरपालिका-१६ बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयले विविध सामाजिक, शैक्षिक र सांस्कृतिक कार्यक्रमसहित आफ्नो ७९औँ वार्षिकोत्सव मनाउने भएको छ । वार्षिकोत्सवको पूर्वसन्ध्यामा विद्यालयले छैटौँ संस्करणको रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

पुस २६ गते शनिबार बिहान विद्यालय परिसरमा आयोजना हुने रक्तदान कार्यक्रममार्फत विद्यार्थीमा रक्तदानसम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै पोखरामा देखिएको रगतको अभावलाई केही हदसम्म न्यूनिकरण गर्ने लक्ष्य लिइएको रक्तदान कार्यक्रम संयोजक शिक्षक जयराम पुनले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चन्द्रा थापा अधिकारीको प्रमुख आतिथ्यतामा हुने रक्तदान कार्यक्रममा विद्यालयको जुनियर रेडक्रस सर्कल, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा-१६को सहकार्य रहनेछ । कार्यक्रमका लागि प्रादेशिक रक्त सञ्चार केन्द्रसँग समन्वय गरी आवश्यक तयारी सुरु भइसकेको संयोजक पुनले बताए ।

गत वर्ष ३९ युनिट रगत संकलन गरेको विद्यालयले यस वर्ष नयाँ रक्तदाताको सहभागिता बढाउने उद्देश्यसहित तयारी तीव्र बनाएको जनाएको छ । यसैबीच, विद्यालयले पुस २६ गते शुक्रबार शैक्षिक तथा खेलकुदतर्फको पुरस्कार वितरण कार्यक्रम आयोजना गर्नेछ । सो अवसरमा माध्यमिक शिक्षा परीक्षा (SEE) मा ३.६ जिपिए ल्याएका १९ जना विद्यार्थीलाई सम्मान गरिने विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

वार्षिकोत्सवकै अवसरमा चण्डीका भवनदेखि महेन्द्र गुफासम्म वृहत सरसफाइ कार्यक्रमसमेत सञ्चालन गरिनेछ । वार्षिकोत्सवको मुख्य समारोह पुस २७ गते आयोजना हुनेछ । मुख्य समारोह पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ । कार्यक्रममा उत्कृष्ट शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थी सम्मानसँगै विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने विद्यालयले जनाएको छ ।

सो अवसरमा एसईईमा ४.० जिपिए ल्याउने विद्यार्थी सहज घिमिरेलाई विशेष सम्मान, विभिन्न छात्रवृत्ति तथा पुरस्कार वितरण गरिने विद्यालयका सूचना अधिकारी नविन अधिकारीले जानकारी दिए ।विद्यालयले आयोजना गरेको स्पोर्ट्स मिट भने तीन दिनदेखि निरन्तर रूपमा सञ्चालन भइरहेको छ ।

करिब १ हजार ५ सय विद्यार्थी अध्ययनरत विन्ध्यवासिनी माध्यमिक विद्यालय यसअघि सामुदायिक विद्यालयतर्फ नेपालकै उत्कृष्ट पहिलो बन्न सफल भइसकेको विद्यालय हो । वार्षिकोत्सवका कार्यक्रमहरूले विद्यालयको शैक्षिक पहिचानसँगै सामाजिक उत्तरदायित्व र समुदायसँगको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: