
पोखरा। चेतना महिला सिप विकास परियोजनाले पोखरा महानगरपालिका-१७ महतगौडामा सञ्चालित जानकी माध्यमिक विद्यालयका विपन्न तथा असहाय विद्यार्थीलाई न्यानो स्वीटर वितरण गरेको छ । परियोजनाले विद्यालयमा अध्ययनरत विपन्न वर्गका २४ जना विद्यार्थीलाई करिब १३ हजार रुपैयाँ बराबरका स्वीटर प्रदान गरेको हो । जाडो मौसममा विद्यार्थीलाई न्यानो कपडाको अभाव नहोस् भन्ने उद्देश्यका साथ सहयोग गरिएको परियोजनाले जनाएको छ ।
स्वीटर वितरण कार्यक्रमका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाले सामुदायिक विद्यालय समाजका विपन्न तथा असहाय वर्गका बालबालिकाको अध्ययनको महत्वपूर्ण आधार बनेको उल्लेख गर्दै पछिल्लो समय शैक्षिक गुणस्तर सुधारमा विशेष ध्यान दिइँदै आएको बताए ।
विद्यालयका प्रधानाध्यापक अर्जुन कडेलले विभिन्न संघ-संस्थाको सहकार्यबाट विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री र पोशाक सहयोग उपलब्ध हुँदा विद्यार्थीको नियमित उपस्थिति र सिकाइमा सकारात्मक प्रभाव परेको विश्वास व्यक्त गरे ।
कार्यक्रममा चेतना महिला सिप विकास परियोजनाका संस्थापक तारा तिमिल्सिना, सञ्चालक पविता तिमिल्सिना, विद्यालयका सहायक प्रधानाध्यापक भीमप्रसाद रिजाल, शिक्षिकाद्वय चन्दा तिमिल्सिना र सीता थापाले विद्यार्थीलाई स्वीटर वितरण गरेका थिए ।
सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै गरिएको यस सहयोगले विद्यार्थीलाई पढाइप्रति थप उत्साहित बनाउनुका साथै समुदाय र विद्यालयबीचको सम्बन्ध अझ सुदृढ बनाएको सरोकारवालाले बताएका छन् ।
