नेपाल शिक्षक महासङ्घ कास्कीको प्रथम जिल्ला परिषद्को तयारी तीव्र

Share:

पोखरा । नेपाल शिक्षक महासङ्घ कास्कीले आफ्नो प्रथम जिल्ला परिषद्को तयारी तीव्र बनाएको छ । परिषद् पुस २७ गते पोखराको जिरो किमि स्थित गोल्डेन हाउस पार्टी प्यालेसमा आयोजना हुने भएको छ । परिषद्मा शिक्षक सम्मान, अन्तरक्रिया कार्यक्रम तथा शिक्षकका हकहित र पेशागत सरोकारका विषयमा व्यापक छलफल हुने महासङ्घ कास्कीका सहअध्यक्ष तथा परिषद् व्यवस्थापन समितिका संयोजक डिल्लीराम बरालले जानकारी दिए ।

सो अवसरमा ‘सङ्घीय शासन प्रणालीमा विद्यालय शिक्षा र स्थानीय तहको भूमिका’ विषयक विशेष अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिनेछ । महासङ्घले शिक्षक तथा विद्यालय कर्मचारीलाई स्थानीय भत्ता उपलब्ध गराउने निर्णय कार्यान्वयनका लागि कास्कीका पाँचवटै स्थानीय तहलाई दबाब दिने निर्णय यसअघि नै गरिसकेको छ । परिषद्को अवसरमा उक्त विषयलाई थप सशक्त रूपमा अघि बढाउन छलफल गरिने सहअध्यक्ष बरालले बताए ।

जिल्ला समिति कास्कीका अध्यक्ष भोलानाथ पौडेलले शिक्षक आन्दोलनका क्रममा महत्त्वपूर्ण योगदान पुर्‍याएका शिक्षकहरूलाई विशेष सम्मान गरिने जानकारी दिए । यसैबीच नेपाल शिक्षक महासङ्घ, कास्कीका सचिव हर्कबहादुर लामिछानेले कास्की जिल्लाभरका शिक्षकहरूलाई परिषद्मा सक्रिय र उत्साहपूर्ण सहभागिता जनाउन आग्रह गरेका छन् ।

आयोजकका अनुसार प्रथम जिल्ला परिषद्ले शिक्षक पेशाको मर्यादा, अधिकार र जिम्मेवारीलाई संस्थागत रूपमा अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: