
पोखरा । पोखरा महानगरपालिका वडा नं. ३२ मजुवास्थित कालिका आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडा नं.३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले गरे। उद्घाटन मन्तव्यमा उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, अभिभावक, विद्यार्थी र समुदायबीच एकताबद्ध प्रयास अपरिहार्य रहेको उल्लेख गरे। साथै, उहाँले वडामा सञ्चालन भइरहेका शैक्षिक गतिविधि र विकास निर्माणसम्बन्धी योजनाबारे जानकारी गराए ।
विद्यालयका प्रधानाध्यापक दोर्णराज सुवेदीले विद्यालयको शैक्षिक उपलब्धि, आर्थिक अवस्था तथा भावी योजनाबारे प्रकाश पारे। विभिन्न समयखण्डमा शिक्षासेवी, शिक्षक र समुदायको योगदानकै कारण विद्यालय आजको अवस्थामा आइपुगेको उनले बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर गुरुबको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षक ओम थापा र निर्मला सुवेदीले सहजीकरण गरेका थिए भने स्वागत मन्तव्य शिक्षिका देवी पुनले गराएका थिए।
कार्यक्रममा शिक्षक अभिभावक संघकी अध्यक्ष अप्सरा थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य मोहनकुमार प्रधान, वडा शिक्षा समितिका सदस्य शिवजी लामिछाने, समाजसेवी शरणकुमार प्रधान, खेमराज अधिकारीलगायतले सामुदायिक विद्यालयको प्रवर्द्धन र शैक्षिक सुधारमा जोड दिँदै शुभकामना मन्तव्य व्यक्त गरे।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति देखाएका थिए भने अभिभावकका लागि मनोरञ्जनात्मक खेलकुद कार्यक्रम पनि सञ्चालन गरिएको थियो । सो अवसरमा विभिन्न कक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा विभिन्न प्रतियोगितामा विजयी हुने विद्यार्थी र अभिभावकलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्ध थप मजबुत बनाउँदै सामुदायिक विद्यालयप्रति विश्वास र उत्साह बढाएको सहभागीहरूको भनाइ थियो ।
