
पोखरा । आगामी पुस २९ देखि माघ ११ गतेसम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औँ पोखरा महोत्सवलाई भव्य र सभ्य बनाउन पोखरामा क्रियाशील विभिन्न संघ-संस्थाले साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । महोत्सव उद्घाटनपूर्व पोखराको रंगशाला गेटदेखि आयोजना गरिने झाँकी तथा र्यालीमा आ–आफ्ना झाँकीसहित स्वस्फूर्त रूपमा सहभागी भई महोत्सवको शोभा बढाउने निर्णय संघ-संस्थाले गरेका हुन् ।
महोत्सव आयोजक युनाइटेड क्लबको आयोजनामा सम्पन्न संघ-संस्था तथा झाँकी-र्याली अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले पोखरा महोत्सव विशुद्ध सामाजिक उद्देश्यका लागि आयोजना हुँदै आएको उल्लेख गर्दै प्रत्येक संस्करणमा झाँकी-र्यालीमार्फत सहभागिता जनाउँदै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताएका थिए ।
सो अवसरमा बोल्दै युनाइटेड क्लबका पूर्व अध्यक्ष तथा १४ औँ पोखरा महोत्सवका झाँकी-र्याली व्यवस्थापन उपसमिति संयोजक सुकबहादुर गुरुङले पोखरा महोत्सवलाई भव्य र सभ्य बनाउन पोखराका संघ-संस्थाको महत्वपूर्ण भूमिका रहेको बताए। उनले यस संस्करणमा पनि झाँकी-र्यालीमार्फत व्यापक साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
पोखरा महोत्सवबाट संकलित आम्दानी सामाजिक कार्यमा खर्च हुने भएकाले संघ-संस्थाहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा युनाइटेड क्लबले गर्दै आएको सामाजिक सेवामा सहभागी हुँदै आएको गुरुङको भनाइ थियो ।
त्यस्तै संघ-संस्था व्यवस्थापन उपसमिति संयोजक सीमा गुरुङले महोत्सव उद्घाटनपूर्व आयोजना गरिने झाँकी-र्याली कार्यक्रमले पोखरा महोत्सवको गरिमा र आकर्षण बढाउँदै आएको बताए । उनका अनुसार गत वर्ष ३१५ संघ-संस्थाले झाँकी-र्यालीमा सहभागिता जनाएका थिए भने यस वर्ष पनि सोही हाराहारीमा सहभागिता रहने अपेक्षा गरिएको छ ।
कार्यक्रममा युनाइटेड क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले पोखरा महोत्सव विशुद्ध सामाजिक कार्यका लागि आयोजना हुँदै आएको उल्लेख गर्दै सम्पूर्ण पोखरेलीको साथ र सहयोगकै कारण महोत्सव १४ औँ संस्करणसम्म सफलतापूर्वक आइपुगेको बताए।
कार्यक्रम क्लबका प्रथम उपाध्यक्ष शान्तबहादुर थापाले सञ्चालन गरेका थिए । कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लबका पदाधिकारी, सल्लाहकार, महोत्सवका विभिन्न उपसमिति संयोजक तथा सल्लाहकारहरू र विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।


