
पोखरा । पोखराको लामाचौरमा रहेको नव आदर्श सामुदायिक विकास समाजको २९ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ। सभाको उद्घाटन गर्दै समाजका मानार्थ सदस्य तथा नेपाल सरकारका पूर्व सचिव बाबुराम आचार्यले समाजको विकास र रूपान्तरणका लागि सामाजिक संघ-संस्थाको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताए।
उनले यस क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा नव आदर्श समाजले खेलेको योगदान उल्लेखनीय रहेको उल्लेख गरे। पोखरा-१९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले वडाभित्रका विकास निर्माण तथा सामाजिक गतिविधिमा स्थानीय संघ-संस्थासँग सहकार्य गर्दै अघि बढ्न वडा कार्यालय तयार रहेको बताए। उनले समाजले सामाजिक क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गरे।
समाजका पूर्व अध्यक्ष नविन भण्डारीले तीज महोत्सवलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न कोष स्थापना गरिएको जानकारी दिँदै यसले संस्कृति जर्गेनामा सहयोग पुग्ने बताए।
समाजका अध्यक्ष इन्जिनियर दिनेश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष रेश्मा शेरचन अधिकारी, सल्लाहकार रुद्र थापा, पूर्व सल्लाहकार तारा गर्बुजा लगायतले सामूहिक एकताबाट नै समाज विकास सम्भव हुने धारणा राखे।
सभाको अवसरमा तीज मेलामा सहयोग गर्ने विदेशी भगिनी संस्थाका सदस्यका अभिभावकहरूलाई सम्मान गरिएको थियो। सभाले अध्यक्ष भण्डारीको वार्षिक प्रतिवेदन, सचिव शोभा बानियाँको प्रगति प्रतिवेदन र कोषाध्यक्ष विष्णुमाया बानियाँले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।
द्वितीय उपाध्यक्ष हरिबहादुर थापाले स्वागत गरेको सभाको सञ्चालन सचिव शोभा बानियाँले गरेकी थिइन्। समाजमा हाल २ जना संरक्षक सदस्यसहित ४२७ आजीवन, २९ साधारण, ४ संस्थागत र ५ मानार्थ सदस्य आवद्ध रहेका छन्।
