
पोखरा। नेपाल शिक्षक महासङ्घ, कास्कीको दोस्रो जिल्ला परिषद् आइतवार पोखरामा भव्य रूपमा सम्पन्न भएको छ। परिषद् महासङ्घ कास्कीका अध्यक्ष भोलानाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रशस्त लगानी हुँदाहुँदै पनि सामुदायिक विद्यालयबाट अपेक्षित नतिजा आउन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै त्यसतर्फ शिक्षक महासङ्घले गम्भीर ध्यान दिनुपर्ने बताए। विद्यालयको गुणस्तर सुधारमा प्रधानाध्यापकको नेतृत्व निर्णायक हुने उल्लेख गर्दै महानगरपालिकाले प्रधानाध्यापकलाई प्रोत्साहनस्वरूप केही आर्थिक सुविधा उपलब्ध गराएको जानकारी दिए।
शिक्षा विकास तथा समन्वय एकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्यले स्थानीय तहले शिक्षकलाई पेल्यो भन्ने गुनासोमा अल्झिनुभन्दा पनि शिक्षकहरूले आफ्नो पेशागत दायित्व पूरा गर्नेतर्फ केन्द्रित हुन आग्रह गरे। शिक्षक दरबन्दी मिलानलगायत शैक्षिक समस्या समाधानमा महासङ्घले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले सबै गतिविधि विद्यार्थीकेन्द्रित हुनुपर्नेमा जोड दिए।
नेपाल शिक्षक युनियन, कास्कीका संस्थापक अध्यक्ष दीपक पौडेलले कास्कीको शैक्षिक आन्दोलनको इतिहास स्मरण गर्दै शिक्षकहरूको पेशागत हितका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए।
नेपाल शिक्षक महासङ्घका केन्द्रीय उपाध्यक्ष राम पोखरेलले महासङ्घको आह्वानमा २९ दिनसम्म सञ्चालन भएको शिक्षक आन्दोलनका उपलब्धि क्रमशः देखिँदै जाने दाबी गरे। आन्दोलनमा देशभरका शिक्षकले गरेको योगदान खेर जान नदिन महासङ्घ प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले पेशागत संगठनको महत्व कहिल्यै कम नहुने जिकिर गरे।
कार्यक्रममा महासङ्घ कास्कीका सहअध्यक्ष डिल्लीराम बराल, विभिन्न शिक्षक संगठनका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरू, पोखरा महानगरपालिकाका शिक्षा महाशाखाका अधिकारीलगायत वक्ताहरूले शिक्षक तथा कर्मचारीका हकहितका लागि महासङ्घले अझ प्रभावकारी नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे।
सो अवसरमा कास्कीको शैक्षिक आन्दोलनमा विशेष योगदान पुर्याएको भन्दै दीपक पौडेल, जगन्नाथ अधिकारी, राम पोखरेल, बोधराज पौडेल, मनिराम कडेल र रुद्रनाथ सापकोटालाई सम्मान गरिएको थियो।
परिषद्मा महासङ्घ कास्कीका सचिव हर्क लामिछानेद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण तिमिल्सिनाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो। साथै आयोजित शैक्षिक अन्तरक्रियामा स्थानीय भत्ता, प्रधानाध्यापक नियुक्तिलगायतका विषयमा छलफल गरिएको र आगामी दिनमा स्थानीय तहका प्रतिनिधिसँग थप संवाद गरिने कार्यक्रम संयोजक डिल्लीराम बरालले जानकारी दिए।
